
काठमाडौं,७ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने अभियानमा सहभागी हुन पूराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आह्वान गर्नु भएको छ ।
अध्यक्ष दाहालले देश र जनताको ऐतिहासिक आवश्यक्ता परिपूर्ति गर्न र विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन पनि बाँकि रहेका सबै पूराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकताको महाअभियानमा सहभागी हुन विशेष अपिल गर्नु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिक्रान्तिकारी शक्तिहरु सल्बलाईरहेको भन्दै सचेत रहन पनि पार्टी भित्रको एकतालाई अझै सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनु भयो ।
अध्यक्ष दाहालले प्रतिक्रान्तिकारीको षडयन्त्रलाई निष्तेज पार्न क्रान्तिकारी शक्तिहरु सधैं सचेत रहनुपर्नेमा पनि जोड दिनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभियान र कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउने अभियानका विरुद्ध षडयन्त्र भइरहेको दावी गर्दै त्यसलाई गहिरोसँग आत्मसात गरेर जनतासँगको सम्बन्धलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।
त्यस अवसरमा अध्यक्ष दाहालले पुष्पलाल श्रेष्ठको योगदानको पनि चर्चा गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहदेखि केन्द्रसम्म सुशासनको प्रत्याभूति दिलाउने काममा पार्टीको सिंंगो शक्ति परिचालन हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीले ठूलो सफलता हात पारेको उल्लेख गर्दै त्यसलाई जोगाउन नसके त्यसले क्यान्सरको रुप लिन सक्ने तर्फ पनि सचेत गराउनु भयो । वरिष्ठ नेता नेपालले पार्टीको वर्चश्व रहेको स्थानीय तहमा भ्रष्टाचार मौलाएको गुनासो आउने गरेको भन्दै त्यसलाई बेलैमा नियन्त्रण गर्न पनि जोड दिनुपर्ने आवयक्ता औंल्याउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्