
काठमाडौँ, ७ असार । पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धमा निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त भएको काउन्सिलले जनाएको छ ।
चार वर्षदेखि नेपालको अध्यागमन, श्रम र प्रेस कानुन उल्लंघन गरेको भनी लामिछानेमाथि आवश्यक कारवाही गर्न काउन्सिलमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा गत चैत २३ गते स्पष्टीकरण सोधिँदा उहाँले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको दावीसहित काउन्सिललाई गत वैशाख ६ गते लिखित जवाफ दिनुभएको थियो । उहाँ ‘न्यूज २४’ टिभीमा कार्यरत हुनुहुन्छ ।
सामाजिक सञ्जालमार्फत ‘अशिष्ट, अपुष्ट र आपत्तिजनक’ टिप्पणी काउन्सिलका सन्दर्भमा राख्दै आउनुभएपछि काउन्सिलले उहाँको नेपाल बसाइ र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायमा यही असार ४ गते पत्राचार गरेको र त्यसको ४८ घण्टा नबित्दै असार ६ गते लामिछानेले आफूले अमेरिकी दूतावासमा रु दुई लाख ५८ हजार ५०० दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागलाई निवेदन दिनुभएको जनाइएको छ ।
अब मर्यादामा रहेर कामू गर्नु – काउन्सिल
अमेरिकी नागरिकता र पासपोर्ट परित्यागको निवेदन दिएपछि प्रेस काउन्सिलले अब लामिछानेलाई पेशागत मर्यादामा रहेर काम गर्न निर्देशन दिएको छ ।
विहीबार प्रेस काउन्सिलबाट जारी सार्वजनिक महत्वको प्रेस विज्ञप्तिमा भनिएको छ- ‘नेपालमै रही सञ्चारसम्वद्ध पेशा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचीको कदर गर्दै प्रेस काउन्सिल नेपाल उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाई वा प्रस्तुतिहरुमा शिष्टता, जिम्मेवारीवोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोबार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानुनहरुको समेत उल्लंघन नहुने कुरामा ध्यान पुर्याउन निर्देशित गर्दछ ।’
प्रेस काउन्सिलले तथ्यसहितको तर्कविना कुनै पनि खालका सतही टीका-टिप्पणी नगर्न/नगराउन समेत आग्रह गरेको छ ।



















प्रतिक्रिया दिनुहोस्