काठमाडौं/चितवन, आज भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक नेताहरूले बिहानै आफ्ना मतदान केन्द्र पुगेर मताधिकार प्रयोग गरेका छन्।
नेकपा का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाको कालिका माध्यमिक विद्यालय (मावि) मतदान केन्द्रबाट मत खसालेका छन्। यो केन्द्र प्रचण्डको व्यक्तिगत मतदाता नामावली रहेको स्थान हो, जहाँ उनले पटक-पटक मतदान गर्दै आएका छन्। मतदानपछि प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “लोकतन्त्रको महान् पर्व हो, सबै नागरिकले मताधिकार प्रयोग गर्नुपर्छ।” मत खसालिसकेपछि उनी अन्य निर्वाचन क्षेत्र तथा कार्यक्रमतर्फ लागेको बताइएको छ।
यसैगरी, काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गरिरहेका बालेन्द्र शाह ‘बालेन’ले काठमाडौंको सिनामंगल क्षेत्रको मतदान केन्द्रबाट मतदान गरेका छन्। युवा तथा स्वतन्त्र राजनीतिको प्रतिनिधित्व गर्दै आएका बालेनको यो मतदानले काठमाडौं उपत्यकामा युवा मतदाताहरूमाझ थप चर्चा पाएको छ।


रास्वपा सभापति रवि लामिछानेले पनि काठमाडौंको महाकाल मतदान केन्द्रबाट आफ्नो मत खसालेका छन्। लामिछानेले मतदानपछि भने, “यो निर्वाचन मुलुकलाई नयाँ दिशा दिने अवसर हो।” रास्वपाको प्रभाव बढ्दै गएको सन्दर्भमा उनको मतदानलाई महत्वपूर्ण मानिएको छ।
यी तीनै नेताहरूको मतदानले निर्वाचनको उत्साह झल्काएको छ। मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ। विभिन्न क्षेत्रमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन्। अब मतगणना र अन्तिम नतिजाको प्रतिक्षा बढेको छ।








प्रतिक्रिया दिनुहोस्