काठमाडौ ८ चैत । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत पूर्वमा ६५ किलोमिटर सडकमध्ये ४७ किलोमिटर कालोपत्र भएको छ ।
नारायणघाट बुटवल सडक आयोजना पूर्वखण्ड कार्यालयका अनुसार अहिलेसम्म यो बाटोमा ५८ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ ।
गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ ।
यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन् । निर्माण पूरा भएका पुलमा लिङ्करोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने कार्यालयका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।
विनयी खोलाको पुल आउँदो मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ । केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर गाडी सञ्चालन भएका छन् ।
सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङका सह–व्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार भइरहेको बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्