
काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषद पुनर्गठनको तयारी अन्तिम चरणमा रहे पनि मन्त्री बन्नेहरुको नाम भने गोप्य राखिएको छ ।
नेकपा सचिवालयको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद आजै पुनर्गठन हुन सक्ने बताउनु भएको छ । ‘प्रधानमन्त्रीले यसअघि नै संकेत गरेअनुसार नै तुरुन्तै मन्त्रिपरिषद पुनर्गठन हुन्छ’, सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘पुनर्गठनपछि हुने मन्त्रीको संख्या र नामावली भन्ने प्रधानमन्त्री आफैले घोषणा गर्नुहुन्छ ।’
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच नयाँ बन्ने मन्त्रीहरुको लिष्ट तयार भए पनि गोप्य राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहीवार मन्त्रिपरिषद बिस्तार गर्नुहुने एक स्रोतले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले सरकारको सम्पुर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीलाई र पार्टीको कार्यकारी जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई दिएलगत्तै बिहीवार मन्त्रिपरिषद पुनर्गठन हुने भएको हो ।
बैठकको निर्णयअनुसार प्रधानमन्त्री ओलीले हटाउने र मन्त्री बनाउने नयाँ अनुहारको सूची बनाउन थाल्नुभएको छ । स्रोतका अनुसार भोलि बिहान प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई हटाउने मन्त्री र नयाँ बन्ने मन्त्रीको सूचीबारे जानकारी दिनुहुनेछ । स्रोतका अनुसार पाँच बाट बढेर सात जना मन्त्री हटाउने सूचीमा परिसकेका छन ।यो संख्या ९ देखि १३ सम्म पुग्न सक्ने स्रोतका भनाई छ । हटने मन्त्रीको सूचीमा उद्योगमन्त्री यादव र कृषिमन्त्री खनाल रहेको घोषणा स्वयं उहाँहरुले नै गरिसक्नु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठकमै मन्त्रिपरिषद पुनर्गठन गर्ने जानकारी दिएलगत्तै उद्योगमन्त्री यादव र कृषिमन्त्री खनालले आफूहरु मन्त्रीबाट बाहिरिने निश्चित भएको जानकारी दिनुभएको हो ।








प्रतिक्रिया दिनुहोस्