
काठमाडौं, २६ कात्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले निर्यात प्रवद्र्धन तथा व्यापार घाटा कम गर्ने विषय आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयका साथ काम भइरहेको बताउनुभएको छ । व्यवसायमैत्री वातावरण बनाउनेमा आफ्नो ध्यान गएको भन्दै उहाँले व्यवसायी सङ्घसंस्थाले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथाशक्य सम्बोधन गर्ने पनि विश्वास दिलाउनुभयो ।
नेपाल उद्योग परिसङ्घले निर्यात व्यापारमा देखिएको सुधारलाई कायम राख्दै निर्यात प्रवद्र्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।अर्थमन्त्रालयमा आज भएको भेटमा नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलले निर्यात प्रवद्र्धन र उद्योग–व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि छलफल गरेको थियो ।
छलफलमा परिसङ्घका अध्यक्ष सतीशकुमार मोरले निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनमा भइरहेका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताउनुभयो ।अध्यक्ष मोरले उत्पादन मूल्य कम गरी उद्योगहरुलाई थप प्रतिस्पर्धी बनाउन, आवश्यक नीतिगत सुधारका लागि पहल गर्नसमेत अर्थमन्त्री खतिवडासँग आग्रह गर्नुभयो ।







प्रतिक्रिया दिनुहोस्