ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अठारौँ नाम सम्मेलन आज शुरु हुँदै : नेपालले नाम सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनर्पुष्टि गर्ने


एबीसी न्यूज


काठमाडौं, ८   कात्तिक ।  असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु हुँदैछ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनहरुका प्रतिनिधिहरु सहभागिता हुँदैछन् ।

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हुनुहुन्छ । शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल हिजो अबेर राति कतारको दोहा हुँदै कतार एयरको नियमित उडानमार्फत यहाँ आइपुगेको हो । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य हुनुहुन्छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेश हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले औपचारिक उद्घाटनपछि नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

यसैगरी, प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष÷सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा पनि आज सरिक हुनुहुनेछ । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनअघि कात्तिक ४ देखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ ।

यसअघि, बिहीबार अबेर राति, शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डमा सहभागी राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका संवाददाताहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्रिस्तरीय बैठकले वर्तमान विश्व अवस्थाको विश्लेषण गर्दै असंलग्न आन्दोलन र यसका सिद्धान्तहरुको सान्दर्भिकताको पुनर्पुष्टि गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् १९६१ मा नाम औपचारिक रूपमा स्थापित हुँदा विकासोन्मुख देशहरुले सामना गरेका विकास र विश्व प्रणालीमा अर्थपूर्ण सहभागिताको समस्या अझै पनि यथावतै रहेको छ ।”

सो बैठकले १८औँ नाम शिखर सम्मेलनको बाकु घोषणापत्रको मस्यौदा गरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले घोषणापत्रको मूल सार भनेको बाङडुङ सिद्धान्तहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको र नामका सदस्यहरुले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न आफूहरुबीचको सहकार्य र एकतालाई थप बलियो बनाउनुपर्ने रहेको बताउनुभयो । शिखर सम्मेलनको मुख्य दस्तावेजका रूपमा रहने बाकु घोषणापत्र सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको अनुमोदनपछि भोलि जारी हुँदै सम्मेलनको समापन हुनेछ ।

“दिगो विकासका लक्ष्य हामीले अवलम्बन गरेको एउटा युगान्तकारी विश्वव्यापी कार्यक्रम हो तर विकसित राष्ट्रहरुले त्यस सम्बन्धमा जिम्मेवारीको भार जति लिनुपर्ने हो, त्यति लिन सकिरहेका छैनन्”, मन्त्री ज्ञवालीले भन्नुभयो, “त्यसैकारण, दिगो विकासका लक्ष्यहरुलाई पूरा गर्नमा विकासोन्मुख देशहरुलाई सहयोग गर्न हाल विद्यमान विकास सहायताको संरचनालाई परिवर्तन गर्न आवश्यक छ ।”

नामको मुख्य उद्देश्य भनेको विकासोन्मुख देशहरुको स्वतन्त्र पहिचान, स्वतन्त्र अस्तित्व र स्वतन्त्र रूपमा विकास गर्न पाउने स्वतन्त्रताका साथै विश्व प्रणालीमा न्यायोचित प्रतिनिधित्व होस् भन्ने हो । “नेपालको हकमा भने, नाम हाम्रो अस्तित्व र विकाससँग जोडिएको कुरा हो”, परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो, “त्यसैकारण हाम्रो विदेश नीति असंलग्न आन्दोलनका सिद्धान्तहरुमा आधारित हुँदै अघि बढेको छ । हाम्रो भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दा, असंलग्नता, तटस्थता, अहस्तक्षेप, सार्वभौम समानता हाम्रा लागि ज्यादै महत्वपूर्ण छन् ।”

परराष्ट्रमन्त्री ज्ञवालीले यो शिखर सम्मेलन नेपालका लागि असंलग्न आन्दोलनका सिद्धान्तहरुप्रतिको आफ्नो प्रतिबद्धताहरुलाई पुनर्पुष्टि गर्ने अवसर रहेको र त्यही कुरालाई नेपालले आज र भोलि जोड दिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com