
काठमाडौं, २७ असोज । नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले विश्वमा आर्जन गरेको ज्ञान र सीपलाई नेपालको विकासमा लगाउन गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घको महाधिवेशनका लागि हाल काठमाडौँमा रहेका गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिहरुलाई आज आफ्नो निवासमा आयोजना गरेको जलपानमा सहभागी रहनुभएको डा. महतले सो आग्रह गर्नुभएको हो ।
हाल संसारको जुनसुकै देशमा रहेको भए पनि सबैभन्दा पहिला आफू नेपाली हूँ भन्ने पहिचानलाई नभुली मातृभूमिप्रतिको दायित्वप्रति सदैव सजग रहन उहाँले आग्रह गर्नुभयो । विभिन्न पेशा, व्यवसाय, रोजगारी तथा अध्ययनका क्रममा संसारभर रहेका नेपालीहरुको ती देशमा पनि विशिष्ट पहिचान रहेको प्रसङ्ग उल्लेख गर्दै आफूले ती देशमा रहँदा आर्जन गरेको ज्ञान र सीपलाई नेपालमा लगाउन सकेमा देश विकासमा ठूलो टेवा पुग्ने डा महतले बताउनुभयो ।
संसारका विभिन्न देशमा अध्ययन होस् या पेसा र व्यवसाय गर्दा होस् नेपालीहरुले आफ्नो योग्यता र क्षमताका आधारमा विशिष्ट पहिचान बनाएका र यसले नेपालको शिर उँचो राख्न र नेपाललाई विश्वमा चिनाउन सघाउ पुगेको धारणा उहाँले राख्नुभयो । सो कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रामशरण महत, प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेलगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो । जलपानमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्षहरु जिवा लामिछाने र शेष घलेसहित पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्