काठमाडौं, १० जेठ । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निसाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको छ।
घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रान्तीय राजधानी क्वेटानजिकै भएको उक्त आक्रमणले ठुलो क्षति भएको र उद्धार जारी रहेको बताइएको छ।प्राप्त तस्बिरहरूमा रेलका डिब्बा पल्टिएको र क्षतिग्रस्त अवस्थामा देखिएको छ, जहाँ स्थानीय बासिन्दा र उद्धारकर्मी भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्।
घाइते तथा मृतकलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा सारिँदै गरेको दृश्य देखिएको छ भने सुरक्षा बलले घटनास्थलमा कडा सुरक्षा दिएको छ।अधिकारीका अनुसार क्वेटाबाट पेसावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेको बेला विस्फोटक पदार्थ बोकेको एक सवारीसाधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठुलो विस्फोट भएको हो।
विस्फोटका कारण रेलका झ्याल फुटेका छन् र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अर्का अधिकारीले एएफपीलाई बताएअनुसार उक्त रेलमा सवार सैनिकहरू आगामी मंगललबार सुरु हुने इद बिदा मनाउन परिवारसहित घर जाँदै थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठुलो तर विकासका सूचकांकमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ।यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीय जनतालाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाइरहेका छन्, जसका कारण यहाँ लामो समयदेखि सुरक्षा चुनौती छ।








प्रतिक्रिया दिनुहोस्