काठमाडौं १० जेष्ठ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा नियमन गर्न नयाँ नियमावली ल्याउन लागिएको बताएका छन्।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विदेशी विश्वविद्यालयसम्बद्ध कलेजका विषयमा धेरै गुनासो आएकाले नियमन आवश्यक भएको बताए। उनका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको अन्तिम मस्यौदा तयार गरी अर्थ मन्त्रालय र कानून मन्त्रालयमा पठाइसकेको छ।
मन्त्रालयहरूको राय र स्वीकृतिपछि उक्त नियमावली मन्त्रिपरिषद्मा पेश गरिने तयारी रहेको उनले जानकारी दिए। नियमावलीमार्फत कुन विदेशी विश्वविद्यालयलाई सम्बन्धन दिन मिल्ने, कुनलाई नदिने तथा नियमनको ढाँचा कस्तो हुने भन्ने विषय स्पष्ट गरिने मन्त्री पोखरेलको भनाइ छ।
उनले नेपाली विश्वविद्यालय र कलेजहरू नियमनमा रहे पनि विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरू प्रभावकारी रूपमा नियमन हुन नसकेको स्वीकार गरे।
मन्त्री पोखरेलका अनुसार शिक्षा मन्त्रालयले हाल शिक्षा नियमावली, कन्सल्टेन्सी संस्था नियमनसम्बन्धी नियमावली र विदेशी विश्वविद्यालयसम्बद्ध कलेज नियमनसम्बन्धी नियमावली गरी तीन वटा नियमावली एकैसाथ अघि बढाइरहेको छ।







प्रतिक्रिया दिनुहोस्