काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा ३४ वर्षपछि ठूलो संख्यामा स्थायी जनशक्ति थपिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको पहलमा स्वास्थ्य सेवाका लागि ९७७ नयाँ स्थायी दरबन्दी सिर्जना गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको हो।
मन्त्री मेहताको नेतृत्वमा अघि बढाइएको यो प्रस्ताव अब मन्त्रिपरिषद्बाट अन्तिम स्वीकृति पाएपछि कार्यान्वयनमा जानेछ। मन्त्रीको सचिवालयका अनुसार क्याबिनेटबाट निर्णय हुनासाथ स्वास्थ्य क्षेत्रमा दशकौँयताकै सबैभन्दा ठूलो जनशक्ति विस्तार सुरु हुनेछ।
देशको जनसंख्या करिब ३ करोड पुगिसक्दा पनि स्वास्थ्य सेवाको स्थायी दरबन्दी संरचना भने ३४ वर्षदेखि पुरानै अवस्थामा सीमित थियो। अब थप गरिन लागिएको ९७७ प्राविधिक तथा विशेषज्ञ पदलाई स्वास्थ्य प्रणालीलाई आधुनिक, प्रभावकारी र जनमैत्री बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि २०४८ सालमा मात्रै ठूलो स्तरमा नयाँ दरबन्दी सिर्जना गरिएको थियो। त्यतिबेला नेपालको जनसंख्या करिब १ करोड ८० लाख रहेको मन्त्रालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्