काठमाडौं १८ पुस । रसुवा जिल्लामा रहेको रसुवागढी जलविद्युत् आयोजनाले बिजुलीको व्यापारिक उत्पादन सुरु गरेको छ।
आयोजनाका अनुसार यही पुस १६ बाट व्यापारिक उत्पादन सुरु भएको हो।
उत्पादित बिजुली बिक्रीका लागि आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता गरिसकेको छ। सोहीअनुसार व्यापारिक उत्पादनको सुरु मिति १६ गतेदेखि लागू हुने आयोजनाको भनाइ छ। सम्झौताको प्रावधानअनुसार गठित कम्पनी र प्राधिकरणका पदाधिकारी सम्मिलित समितिले व्यापारिक उत्पादनको मिति तोकेको थियो।
पुस पहिलो साता आयोजनाले परीक्षण उत्पादन सुरु गरेको थियो।
गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोशीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ। उक्त विद्युत् गृहमा जडित ३३÷३३ मेगावाट क्षमताको ३ वटा मेसिनबाट विद्युत् उत्पादन हुन्छ।
पहिलो परीक्षणबाट ५२ मेगावाट बिजुली उत्पादन भएको थियो। हिउँदमा पानीको वहाव घट्दा कम उत्पादन भए पनि वर्षायाममा भने पूर्ण क्षमतामा बिजुली उत्पादन हुनेछ।
यो आयोजना कुल १८ अर्ब ६९ करोड २० लाख लागतमा निर्माण गरिएको हो। यस आयोजनाले वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन गरी ३ अर्ब २५ करोड आय गर्नेछ।
रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर ४ हजार १ सय ८५ मिटर सुरुङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्