काठमाडौं, २४ साउन । सय किलो सुन तस्करीको मुख्य नाइकेको आरोपमा हिरासतमा रहेका बेल्जियमका नागरिक दावा छिरिङ डबल एजेन्ट रहेको खुलेको छ। एक विश्वस्त स्रोतबाट प्राप्त गरेको जानकारीमा उनले आफू निकट चिनियाँ आपराधिक समूहका लागि सहजीकरण गर्ने र आफ्ना विरोधी समूहको विरुद्धमा प्रहरीमा सुराकी दिने गरेको खुलेको हो।स्रोतका अनुसार उनले नेपालमा बसेर वन्यजन्तु, विदेशी मुद्रा, साइबर अपराध र सुन तस्करीमा संलग्न चिनियाँहरूबारे प्रहरीलाई सूचना दिने गर्थे।उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीहरूलाई यस्तो सूचना दिने गरेको स्रोतको दाबी छ।
‘दावाले सीआईबीका केही अधिकारीका लागि सुराकीको काम गर्दै आएका थिए,’ स्रोतले भन्यो, ‘उनको सूचनाको आधारमा चिनियाँ अपराधीहरू पक्राउ पनि परेका छन्। सुन तस्करीमा पक्राउ परेपछि उनले डबल एजेन्टको रूपमा काम गरेको देखियो।’यसबारे सीआईबीका केही पूर्व प्रमुखहरूसँग एक संचारकर्मीले जानकारी लिएका थिए । त्यस क्रममा धिरजप्रताप सिंहबाट यसको पुष्टि भयो। सिंह सीआईबी प्रमुख हुँदै प्रहरी महानिरीक्षकबाट अवकाश पाएका प्रहरी अधिकारी हुन्।उनले आफू सीआईबी प्रमुख हुँदा दावा भेट्न आएको र उनले बेला–बेलामा चिनियाँ नागरिकबारे प्रहरीलाई सूचना दिने गरेको पुष्टि गरेका छन् । यसअघि केही नेपाली र भारतीय आपराधिक व्यक्तिहरू समेत यस्तै डबल एजेन्ट रहेको खुलेको थियो। उनीहरूले आफ्नो विरोधी समूहबारे प्रहरीलाई सूचना दिएर पक्राउ गराउने अनि आफ्नो समूहलाई सहजीकरण गर्ने गरेको पुष्टि भएको थियो। त्यसमध्ये एक थिए इल्ताफ हुसेन अन्सारी। उनी बाराका हुन्। नक्कली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेका उनी भारतीय सुरक्षा निकायको मोस्ट वान्टेड सूचीमा थिए।
नक्कली भारतीय रूपैयाँको कारोबारको आरोपमा उनी पक्राउ परेपछि उनले प्रहरीका लागि सुराकीको काम समेत गर्ने गरेको खुलेको थियो। मुख्यतः उनको सम्बन्ध बारा क्षेत्रमा काम गरेका प्रहरी अधिकारीहरूसँग निकट देखिएको थियो। आफ्नो विरोधी समूहले नक्कली भारतीय रूपैयाँ लगायतका गतिविधिबारे प्रहरीलाई सूचना दिएर विश्वासमा लिएर उनले आफ्नो समूहलाई परिचालन गर्ने गरेको पक्राउपछि खुलेको थियो। यति मात्रै हैन उनी पाकिस्तानी खुफिया एजेन्सी र भारतीय खुफिया एजेन्सीका व्यक्तिहरूसँग समेत एकैपटक सम्पर्कमा बसेर दुवैका लागि काम गर्ने गरेको खुलेको थियो। उनी पछि १५ किलो अवैध सुनचाँदीको घटनामा समेत पक्राउ परेका थिए। इल्ताफलाई जाली भारतीय रूपैयाँको अर्को मुख्य योजनाकार युनुस अन्सारीको उत्तराधिकारीको रूपमा सुरक्षा निकायले सूचीकृत गरेको थियो। अहिले इल्ताफ र युनुस दुवै कारागारमा छन्। दावाको श्रीमतीको नाममा होटेल भियना सञ्चालनमा छ। उनले सोही होटेलबाट आपराधिक गिरोह चलाउँदै आएको अनुसन्धानमा खुलेको तथ्यहरूले देखाएको अनुसन्धानरत स्रोत दाबी गर्छ। नेपालमा बस्दै आएका तिब्बती मूलका दावाले नेपाली युवतीसँग विवाह गरेका छन्। उनको साथमा बेल्जियमको राहदानीसँगै नेपाली राहदानी र नेपाली पासपोर्टसमेत रहेको पुष्टि भएको छ। उनले २०७४ पुस २० गते काभ्रेको नमोबुद्ध(११ ठेगाना राखेर नागरिकता र राहदानी लिएका थिए। २०१८ अगस्ट १५ मा बेल्जियम राहदानी निकालेको उनको राहदानीको म्याद २०२५ सम्म छ। उनले काभ्रेबाट वंशजको आधारमा नागरिकता र राहदानी बनाएको खुल्छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले यसबारे जानकारी पाए पनि अनुसन्धान प्रक्रिया भने अगाडि बढाएन।
उनले अर्का चिनियाँ नागरिक बिङचिङ देङको नाममा समेत काभ्रेबाटै नेपाली नागरिकता र राहदानी बनाइदिएको पुष्टि भएको छ। उनले नेपाली नाम तेन्जिङ गुरुङ राखेका छन्। राहदानीमा उनको नेपाली नागरिकताको नम्बर ११००४२५ देखिन्छ। उनको नाममा नेपाली राहदानी २०२० फेब्रुअरी २४ मा बनेको देखिन्छ, जसको म्याद २०३० सम्म छ। उनको चिनियाँ राहदानी २०१० मा जारी भएको देखिन्छ। नेपाली राहदानीमा ठेगाना काभ्रे राखिएको छ भने चिनियाँ राहदानीमा ठेगाना फुजियान राखिएको छ।



















प्रतिक्रिया दिनुहोस्