बुटवल, १२ जेठ । भोगचलन गर्न पाए पनि लालपुर्जा नपाएका गांउ ब्लक अन्तर्गतको जग्गाको नेपाल मै पहिलो पटक सरकारले लालपुर्जा बितरण गर्न सुरु गरेको छ । रुपन्देहीको सैनामैनाबाट सुरु भएको गांउ ब्लकको जग्गाको लालपुर्जा बितरणलाई देशभरी लैजाने तयारी सरकारले गरेको छ ।
रुपन्देहीको सैनामैनाको मुर्गिया बजार र त्यस आसफासका स्थानीयबासीले बर्षौदेखि जग्गा भोगचलन गर्दै आए पनि जग्गाधनी पुर्जा पाएका थिएनन् । सैनामैना नगरपालिकाले आज आज एक कार्यक्रम गर्दै जग्गाधनी पुर्जा बितरण गर्न सुरु गरेको हो । भोगचलन गरिरहेका स्थानीबासीलाई भूमिसुधार, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले पुर्जा बितरण गर्नु भएको थियो ।
पुर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जग्गा भएरपनि स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई सरकारले प्राथमिकताका साथ जग्गाको मालिक वनाउने प्रतिवद्धता जनाउनु भयो । उहांले पचासौं वर्षदेखि जग्गा जोतभोग गरेका तर पुर्जा नपाएर जग्गाको अपनत्व ग्रहण गर्न नपाएका गाउँब्लक जग्गाको पुर्जा वितरण सैनामैनावाट सुरु गरेको बताउनु भयो ।
कार्यक्रममा नेकपाका महासचिव तथा रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभाका सदस्य विष्णु पौडेलले सरकारले सुकुम्वासी समस्या समाधान गर्ने अठोट गरिसकेको र त्यसको पहिलो अभ्यास स्वरुप रुपन्देहीको सैनामैनावाट जनतालाई जग्गाको मालिक वनाउने प्रकृया सुरु भएको बताउनु भयो ।
उहाँले सरकारले जनताका चाहना अनुसारको विकासका काम गरिरहेको भन्दै जनताले अव तीन वर्षभित्रमा विकासको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश ५ सरकारका कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरी कृषि क्षेत्रको विकास गरी कृषकहरुको आयआर्जनमा टेवा पु¥याउने कार्यक्रम लागू गरेको बताउनु भयो ।
कार्यक्रममा सैनामैना नगरपालिका क्षेत्रका पाँचसय घर परिवारका सदस्यलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको थियो । पहिले नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ । घर वनाएर बसेका तर नापी भएरपनि पुर्जा नपाएकाहरुलाई सरकारले आईतवारदेखि पुर्जा वितरण गर्न सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्