काठमाडौं,१ जेठ । सत्तारुढ दलका वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले अंहकार छोडी जनताको मन जित्ने काम गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
युवा संघ नेपालको २९ औ बार्षिकोत्सवको अवसरमा बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले अंहकारी दृष्टिकोण, गलत चिन्तन र सर्वश्रेष्ठताको भ्रमले पतन तर्फ डोर्याउने भन्दै कम्युनिष्ट आन्दोलनलाई बचाई लोकप्रिय बनाउने तर्फ गम्भीर बन्न सुझाव दिनुभएको हो ।
उहाँले बहुमतको अंहकारमा नपर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो “हाम्रो काम र व्यवहारले नै जनताको मन जित्न सक्दछ । जनताका पीर,मर्कामा सहयोगी भयौ भने , जनताको दुख कष्टमा साथ दियौ भने अनि जनताको सुखमा पनि रमायौ भने अनि जनताले हामीलाई मन पराउनेछन् । नभए त्यतिकै जनताले मन पराउँछन् भनेर त्यसको ग्यारेण्टी गरेर बस्न सक्दैनौ । ख्याल गर्नुहोस् । ख्याल गर्नुहोस् ।
यसअर्थमा पनि जनताका समस्याहरु के हुन् ? जनताका चाहानाहरु के हुन् ? जनता के भनिरहेका छन् ? त्यो सुन्नुहोस् । म जोड दिन चाहन्छु । हाम्रो बानी के भएको छ भने भन्ने बोल्ने । सुन्ने कम । ”
अहिले सम्पुर्ण कम्युनिष्ट नेताहरुको आचरण र व्यवहारमाथि नै परिक्षण भईरहेको भन्दै उहाँले आचरण र व्यवहारका कारण नै विकृति फैलिएको त छैन भन्ने तर्फ विचार पु्याउन नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।
सिद्धान्तको अध्ययन र विचारलाई ग्रहण गर्दे संस्थागत नियम र विधिको पालना गरि संगठनात्मक जिम्मेवारी अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “हाम्रो आचरण र व्यवहारमा कतै ठुला समस्या त खडा भएका छैनन् ?अनौठो खालका विकृतिहरु झांगीएका त छैनन् ? भ्रष्टाचार, जनसम्बन्ध, व्यवहारसंग जोडिएको होस् । पारदर्शीता छ कि छैन ? कमिटीभित्र सबै कुराहरु छलफल हुन्छ कि हुदैन ? कामको बाँडफाँड गरिन्छ कि गरिदैन ? योग्यता क्षमताको मुल्यांकन गरिन्छ कि गरिदैन ? यी जम्मै कुराहरुलाई हेर्नुहोस् ।
किनभने अन्त्यमा तपाईको व्यवहारले नै मान्छेको मन जित्छ । ” भाषणको प्रतिष्पर्धामा जान चाहन्न भन्दै आफ्नो सम्बोधन सुरु गरेका पुर्वप्रधानमन्त्री नेपालले सामाजिक न्याय सहितको सम्मृद्धि मुठ्ठी भरको जमातका लागि नभएको भन्दै शिक्षा, रोजगारी तथा जनतासंग जोडिएको गास बासका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
समाजवादको कुरा गर्दा सोभियत संघ विघटन भएर पतन भएको, चीन ठुलो संकटमा पुगेर पनि नया गतिका साथ अघि बढेको पं्रसग उल्लेख गर्दै उहाँले कमजोरी खोज्ने र हटाउने बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले चुनावदेखी नै प्रगति गरेको भएपनि यथेष्ट प्रगति नभएको भन्दै दुई तिहाईको दंम्भमा बस्ने अवस्था नरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “प्रगति यथेष्ट छैन ।
अझै पनि हामीले ५५ प्रतिशत जनताको मात्रै मत प्राप्त गरेका छौ । ख्याल गर्नुहोस् दुई तिहाई होइन । धेरै जनताको विश्वास जित्न बाँकी छ । धेरै जनताको माझमा पुग्न बाँकी छ । धेरैलाई हामीले आफ्नो पक्षमा ल्याउनु जरुरी छ । त्यो के बाट गर्न सक्छौ ? राम्रो कामबाट । ”
प्रतिक्रिया दिनुहोस्