काठमाडौं ,१२ बैशाख । चीनको ९ दिने राजकीय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज राजधानी बेइजिङ पुग्नुभएको छ । नेपाल एयरलाइन्सको चार्टर विमानबाट सियान हुंदै बेइजिङ विमानस्थलमा पुग्नुभएको राष्ट्रपति भण्डारीलाई चिनिया विदेशमन्त्री वाङ यीले स्वागत गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी हिजो सान्सी प्रान्तको सियान पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले भोलि दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनको उद्घाटन सत्रमा नेपालका राष्ट्रपतिको उपस्थितिलाई चीनले विशेष महत्व दिएको छ ।
पर्सिसम्म चल्ने सम्मेलनका विभिन्न सत्रमा राष्ट्रपति भण्डारीले अध्यक्षता समेत गर्नुहुनेछ । वेइजिङमा रहंदा भण्डारी र चिनिया समकक्षी सि जिङपिङबीच उच्चस्तरीय भेटवार्ता हुनेछ ।
राष्ट्रपति सीले भण्डारीको सम्मानमा चिनिया जनमुक्ति सेनाले गार्ड अफ अनर दिनेछ । दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता समेत हुने कार्यक्रम छ । दुवै राष्ट्रपतिको उपस्थितिमा पारवहन र यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो चीन भ्रमणका क्रममा सहमति गरिएको प्रोटोकलमा हस्ताक्षर भएपछि नेपालले चिनिया बन्दरगाह र सडक उपभोग गर्न पाउनेछ । यस्तै, बीआरआईको फ्रेमवर्कबाट विशेष परियोजनामा समेत हस्ताक्षर हुने बताइएको छ । यद्यपी, कुन परियोजनामा हस्ताक्षर हुन्छ भन्नेमा नेपाल र चिनिया अधिकारीहरुले अहिलेसम्म केही खुलाएका छैनन् । राष्ट्रपति भण्डारी शनिबार बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने समारोहमा सहभागी हुनुहुने छ । बेइजिङको भ्रमण पुरा गरी ल्हासा हुंदै भण्डारी बैशाख १९ गते स्वदेश फर्किनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्