काठमाडौँ, १२ वैशाख । रक्तदाताले दान गरेका रगतमा औलो रोगको परजीवी छ कि छैन भन्ने परीक्षण नेपालले हालसम्म शुरु गर्न सकेको छैन ।
किटजन्य रोगका रूपमा रहेको औलो एक प्रकारको ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने तथा सर्ने गर्दछ । कामज्वरो आउनु औलो रोगको प्रमुख लक्षण मानिन्छ । रक्तदाताले दान गरेका रगतको एचआइभी मात्र परीक्षण (स्क्रिनिङ) गर्ने गरिन्छ । रक्तदाताले रगत दान गर्नुपूर्व अनिवार्यरूपमा भर्नुपर्ने फारममा मलेरिया रोग भए÷नभएको अथवा यस रोगविरुद्धको औषधि खाए÷नखाएको कुनै जानकारी भर्नुपर्ने व्यवस्थासमेत छैन ।
रक्तदाताका रगतमा सो रोगको परजीवी परीक्षण नहुँदा औलो रोग रगतबाट सर्ने जोखिम उच्च हुँदै गएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चिकित्सक विवेकलाल कर्णले नेपालमा हालसम्म दान गरेका रगतमा औलो रोगका परजीवी छ कि छैन भन्ने परीक्षण गर्ने व्यवस्था नभएको जानकारी दिनुभयो । महाशाखाद्वारा औलो रोग दिवसका अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दाताको रगतमा औलो रोगको ‘स्क्रिनिङ’ हुने व्यवस्था छैन । तर रगतबाट औलो रोग सर्छ ।” नेपालमा वर्षेनी कति युनिट रगत तथा रगतको तत्व खपत हुन्छ भन्ने यकिन तथ्याङ्क कुनै निकायसित छैन । केही वर्ष अगाडि विश्व स्वास्थ्य सङ्गठनले नेपालमा दाताको रगतमा औलो रोगको स्क्रिनिङ गर्न नपर्ने सुझाव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दिएको थियो ।
तर कुनै समय तराई÷मधेशको प्रमुख जनस्वास्थ समस्याका रुपमा रहेको औलो पहाडी क्षेत्रका लागि पनि प्रमुख समस्याका रुपमा देखापरेको छ । तराई मधेशका जिल्लामा भन्दा पहाडी जिल्लामा औलोको जोखिम उच्च हुँदै गएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गत वर्ष कैलाली सबैभन्दा बढी ३०१ र त्यसपछि मुगुमा १६८ औलोका रोगी भेटिएका थिए । देशका ४९ जिल्ला औलोको उच्च जोखिमभित्र रहेको छ । गत वर्ष देशभर एक हजार १२७ औलोको उपचारमा आएको महाशाखाको तथ्याङ्क छ । तीमध्ये नेपालभन्दा नेपाल बाहिरबाट औलो रोग लिएर आउनेको सङ्ख्या बढी रहेको छ । महाशाखाका प्रमुख चिकित्सक कर्णले भन्नुभयो, “नेपालमा ५५७ र आयातित ६३० मा औलोको रोगी भेटिए”, यस वर्षका नारा ‘औलो रोग दिवसको नारा आफँैबाट शुरु गरौँ, औलोलाई शून्यमा पु¥याऔँ’ भन्ने छ ।
गत वर्ष औलोको कारण मृत्यु हुनेको सङ्ख्या शून्य थियो । दक्षिण एशियामा श्रीलङ्का र मलेशियाले औलो निवारण गरिसकेका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीले औलो रोग निवारण गर्न विभागले औलो रणनीति योजना २०१४–२०२५ कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । उहाँका अनुसार विभागले सन् २०२५ भित्र नेपालबाट औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ । सरकारी, सामुदायिक तथा निजी क्षेत्रका अस्पतालमा औलोको निःशुल्क उपचार हुने व्यवस्था रहेको छ । साथै औलो रोगको जोखिम क्षेत्रमा झूल वितरण तथा विषादि छर्कने कार्यक्रम जारी छ ।
प्रतिक्रिया दिनुहोस्