काठमाडौं, १२ बैशाख । चीनको ९ दिने भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको सान्सी प्रान्तका गभर्नर लिउ गाओझाङ ले शिष्टाचार भेट गर्नुभएको छ ।
बुधवार चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी सान्सी प्रान्तको राजधानी सियानमा पुग्नुभएको थियो । भेटमा दुई देशबीचको सम्बन्ध, नेपालको पर्यटनलगायतका विषयमा छलफल भएको जनाइएको छ।
सान्सीमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँ रहेको तासियान बुद्ध मन्दिरको अवलोकन भ्रमण गर्नुभएको छ। राष्ट्रपति भण्डारी सान्सीको अवलोकन तथा भ्रमण र औपचारीक भेटघाट पछि आजै चीनको राजधानी बेइजिङ तर्फ जाँदै हुनुहुन्छ । बेइजिङमा आजदेखि दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनको सम्मेलन हुँदैछ। सम्मेलनको भोलि उद्घाटन सत्रमा राष्ट्रपति भण्डारी सहभागी हुने कार्यक्रम रहेको छ।
राष्ट्रपति भण्डारी दुई दिन बिआरआई सम्मेलनका विभिन्न सत्रमा सहभागी हुने कार्यक्रम रहेको छ। सम्मेलनमा शुक्रबार विश्वका उच्च नेताहरुको सम्मेलनमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै शनिवार पनि सम्मेलन अन्तर्गतको गोलमेच बैठकमा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। शनिवार राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासमा आयोजना हुने समारोहमा सहभागी हुनुहुने छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आगामी सोमबार चिनियाँ राष्ट्राध्यक्ष सि जिङपिङसँग भेट गर्ने कार्यक्रम छ। त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका अनुशासन आयोगका प्रमुख नेता चाउ लचीसँग पनि भेटवार्ता हुनेछ।
सोमबार हुने राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीसँगको बैठक पछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ यातायातमन्त्री ली सियाओपिङले चीन–नेपाल यातायात तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्