काठमाडौं,१ बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारल आगामी बजेटमा बृद्धभत्ता बढाउने घोषणा गर्नुभएको छ ।
ज्येष्ठ नागरिक स्वास्थ्यविमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियानकार्यक्रमको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गर्नुभएको हो ।
“यो बुढा बुढीको भलो चिताउने सरकार हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसपालीको बजेटमा बृद्धभत्ता बढ्छ । ढुक्क भए हुन्छ ।”
प्रधानमन्त्री ओलीले २०५१ सालमा तत्कालिन एमालेको सरकारले वृद्ध भत्ता वितरण सुरु गरेपछि नेपालीहरुमा बाँच्ने मनोविज्ञान बढेको बताउनु भयो । “पहिला पहिला बुढा बुढीहरु कतिबर्ष पुग्नुभयो भन्दा ६८ बर्ष पुगियो । अब कति बाचिएला र भन्थे ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यति बेला बृद्धभत्ता पाउन अब दुई बर्ष बाँकी छ भन्छन् । बृद्धबृद्धाहरुमा जीवनप्रतिको आशा बढेको छ ।”
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले कसैले भोकै नांगै बस्नु नपर्ने,मागेर खानु नपर्ने बताउनु भएको छ । त्यस्ता अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यविमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठुलो भरथेग गर्ने बताउनु भएको छ । “हामी नेपाललाई केहीबर्ष भित्रै निरोगी नेपाल,स्वास्थ्य नेपाल बनाउदैछौं ”प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि हाम्रो खान पानलाई विषादी रहित बनाउनु पर्दछ । ”
प्रधानमन्त्री ओलीले केही ज्येष्ठ नागरिकहरुलाई कार्यक्रममा स्वास्थ्य विमा कार्ड वितरण गर्नुभएको छ । यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोल्नु भएको छ । उहाँहरुलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेक हस्तान्तरण गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्