मिस नेपाल मापन गर्ने आधार के ?

शारदा शर्मा
2019-04-06 10:29

शारदा शर्मा


महङ्गा होटलमा अनेक तामझामको साथ सुन्दरता नाप्न मान्छेहरु तँछाडमछाड गरिरहेको समय यी मकैवालीको सुन्दरताले मलाई निकै लोभ्यायो। उनीभित्रको सुन्दरता उनले ब्यबस्थापन गरेर खुसी राखेको परिवारसम्म चम्किरहेको थियो । बिजुली चम्किँदा देखिने चमक भन्दा पनि धेरै तेजको साथ।

सुरुदेखि अन्तसम्म मिस नेपाल हेर्दै गर्दा आफैलाई अचम्म लाग्यो। सायद मान्छेहरु आज पनि मनोरञ्जन र ट्यालेन्सीको कम्युनेसन मिलाउँदै समयका सिमाङ्कनहरु कोरिरहेका छन्। समाजका जानेमानेहरु मिस नेपालको अडियन्समा बसेर कसैका दाँत, कसैका नाक र कसैको पूरा शरिरको मापन गरिरहेका छन, साँच्चै सुन्दरता के हो भनेर ? डिजाइनरहरुले तयार गरेका लोभलाग्दा कपडामा सजाएर आफूभित्रको क्षमता प्रदर्शन गर्न तँछाडमँछाड गरिरहेका देखिन्छन् छोरीचेलीहरु।

हुन त यहाँसम्म आइपुग्दा उनीहरूले पार गर्नुपर्ने अनेक खुटकिलाहरु अवश्य छन् । मेहनत त्यहाँ पनि छ । सफलता प्राप्त गर्न चाहिने हरेक मापदण्ड पूरा गर्न उनीहरू तयार छन्। सुन्दरता नाप्नको लागि बसेका न्यायाधीशहरु मुख उवाउँदै उनका हरेक तरक्कीहरुलाई कलमले कोरिरहेका छन्। नाक कान, कपाल, उचाइ, रङ, ढङ बोलिचालीले उनीहरुको ओहदा छुट्टाउँदै पदबी दिन तँछाडमछाड छ। एउटा प्रक्रिया हो यो । प्रत्येक बर्ष चल्ने फिनाली ।

यहाँ सोच र मान्यताहरु पनि भिन्न भिन्न प्रकारका छन्। सायद ट्यालेन्ट, ब्युटी र समाजका यिनै विविधताहरुलाई बुझ्न नसकेर होला, मलाई सुन्दरता नाप्ने यी अखडाहरुप्रति बिस्वास नै लाग्दैन। खास समाज के हो ? अनि सुन्दरता केहो त ? मिस नेपाल हेरिरहँदा मैले मध्य पश्चिम की रुपकलीलाई सम्झेँ। खै के देखेर हो बाबु–आमाले उनको नाम रुपकली राखीदिएछन् । रुप भनेको सुन्दर भनेर उनकी हजुरआमाले भन्दा पनि खासै उनलाई मतलव थिएन। जब जीवनले अनेक परिक्षाहरु लिन थाल्यो रुपकलीसँग जीवन तर्नै नसकिने समुन्द्र जस्त‍ो लाग्न थाल्य‍ो। १२ बर्षमै बिहे गरेर घरमा भित्रिँदा उनलाई जीवन बुझ्न निकै कठिन भयो। आफूले राम्रोसँग नचिन्दै श्रीमानको मृत्यु भएपछि उनको नाम रुपकलीबाट(कलंक) बन्यो। सायद श्रीमानको मृत्युसँग जोडेर उनलाई समाजमा सुन्दरता मापन गर्नेहरुले नै राखिदिएको नाम थियो यो।

जीवन र जिन्दगीलाई निकै नजिकबाट नियाल्दै जाँदा सुन्दरताको सिमाङ्कन गर्ने समाजमा फेरि एकपटक रुपकली बन्न उनलाई लामो समय लाग्यो। भन्छिन्, खै कसरी मापन गरिन्छ सुन्दरताक‍ो नामले कामले या रुपले ? जीवनको अन्तरङ खोतल्दै जाँदा धेरै रुपकलीहरु सुन्दरताका धनी छन्। तर यहाँ एउटा कोर्स पूरा गरिन्छ, ठूला होटलभित्र हिँडाइको चाप लिएर, कम्मरको नाप लिएर।

मलाई मकै पोलेर जीवनयापन गर्ने मकैवाली असाध्यै सुन्दरी लागिन्। परिवार र खुसीको लागि हरेक बिहानबाट बेलुकीसम्म आगो फुक्दा फुक्दा काला बनेका ओठहरुमा कुनै लिपिस्टिक लगाउनु परेको थिएन। उनीभित्रको खुसी नाप्न न यहाँका जानेमानेहरुले सक्छन, न मकै खाइरहने ग्राहकले।

अनेक रङ र डिजाइनका कपडाले आधा शरीर मात्र ढाकेर हामी हाम्रो सुन्दरताको जाँच दिन तयार हुनुपर्छ। किनकी सुन्दरी देखिन हाम्रा प्रत्येक अंगहरु पारदर्शी तरिकाले देखिनु पर्छ। हाम्रोमा मात्र हैन, पूरा शरीर ढाकेर सुन्दर देखिन यहाँ पुरुषहरु मात्र सक्छन् किनकी हामी सकिँदैन। हामीले आधा शरिर प्रदर्शन गर्नैपर्छ ? हाम्रो स्वतन्त्रताको कुरा छ, अधिकारको कुरा छ। हामी हेपिएका छौँ, दबिएका छौँ। फेरि समानताको कुरा पनि त छ ? लाग्यो, स्वतन्त्रताको नाममा हामीले आफूले आफैलाई बुझ्न नसक्दा, अधिकारको लागि हामीले अबलम्वन गर्नुपरेका यावत कुराहरुले सांच्चै हाम्रो सुन्दरता नाप्न सकिएला र ? आफूले आफैलाई प्रश्न गर्दै जाँदा मिस नेपाल घोषणा भएकी मनरुपा स्टेजमा यताउति गर्दै थिइन् । लाग्यो, मध्यपश्चिमकी रुपकली हरेक कुराले खाँरिदै सुन्दर बनेकी थिइन् ।

यहाँ शहरकी रुपकली कुर्कुचासम्मको लुगामा हावा छिर्ने भेन्टिलेसन भएको स्कटबाट लिखुरा खुट्टा देखाउँदै कम्मर मर्काएर स्टेजमा यताउता गर्दा थाहा थिएन उनका ओठहरुमा कति चमक छ। पसिनाले सिंचेको सुन्दर जीवनभित्र उनको जिन्दगीको खुसी लुकेको छ।

उनी हरेक कुरामा स्वतन्त्र छिन् । स्वतन्त्रताको लागि कुनै मन्चमा गएर भाषण दिनुपरेको पनि छैन्, न त उनले अधिकार भन्दै आधा लुगा लगाउनु परेको होस्। किनकी हरेक साँझ घरमा जाँदा भात पाकिरहेको नै हुन्छ, उनका श्रीमानले हुक्का तान्दै साँझको अन्तिम पल आफ्नी घरवालीलाई देखेर फिस्स दाँत देखाउँदा उनले दिनभरिको धुवाँ भुलिदिन्छिन। सायद दुनियाँ यति मात्र खुसी प्राप्त गर्न अनेक खर्च गरिरहेको छ र पनि दुखी छ।


एकपटक सोध्ने हिम्मत गरें मैले, आखिर किन त ? उनले दाँत देखाउँदै भनिन्, आफूले आफैलाई बुझ्न नसकेर। मेरो मोबाइलमा हेर्दै मुसुक्क हाँस्दै उनले भनिन्, फेरि एकपटक मेरो फोटोले बजार लिने भयो। महङ्गा होटलमा अनेक तामझामको साथ सुन्दरता नाप्न मान्छेहरु तँछाडमछाड गरिरहेको समय यी मकैवालीको सुन्दरताले मलाई निकै लोभ्यायो। उनीभित्रको सुन्दरता उनले ब्यबस्थापन गरेर खुसी राखेको परिवारसम्म चम्किरहेको थियो । बिजुली चम्किँदा देखिने चमक भन्दा पनि धेरै तेजको साथ। शहरमा सुन्दरताको मापन गर्न कलम लिएर बसेका न्यायाधीशहरुले फैसला नगर्दै बहस र बार्गेनिङ चलेको समय मैले उनको शिरमा बिश्व सुन्दरीको ताज देखें। आखिर सुन्दरता देखाई, बुझाई र हेराईको तालमेल न हो।

    Comment Here!


सम्बन्धित समाचार

View All