नेकपा अध्यक्ष प्रचण्डबाट मेरिल्याण्डको प्रदेश संसद अवलोकन, नेपाली मुलका सांसद भण्डारीद्धारा स्वागत

2019-03-26 11:12

काठमाडौं, १२ चैत । पत्नी सिताको उपचारका लागि अमेरिकामा पुग्नुभएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गर्नुभएको छ ।

मेरिल्याण्डको संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की, नेपाली मुलका सांसद ह्यारि भण्डारी, पत्नी सीता दाहाल र छोरी गंगा दाहालसमेत रहनुभएको छ । अध्यक्ष प्रचण्डले नेपाली समुदायको सरोकारका विषयका साथै संसदका् प्रक्रियाका बारेमा सांसद भण्डारीसँग जिज्ञासा समेत राख्नु भएको थियो।

प्रचण्ड सचिवालय प्रमुख गङ्गा दाहालका अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै नेपालल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासको स्थायी यात्रातर्फ अघि बढेको बताउनुभएको छ। अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई एतिहासिकरुपमा सम्पन्न गरेको र द्वन्दको रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएको बताउँदै नेपालको विकासमा सहयोगको अपेक्षा गरेका बताउनुभयो ।

नेपालको शीर उच्च राख्न नेपाली समुदायले प्रवासमा खेलेको भुमिकाको अध्यक्ष प्रचण्डले उच्च प्रशंसा गर्नुभएको थियो । अध्यक्षले समृद्ध नेपालको निर्माणमा अमेरिकामा रहेका नेपालीको ठूलो योगदान हुने भन्दै नेपालमा लगानी र सहयोगका लागि आव्हान समेत गर्नुभयो । अध्यक्ष प्रचण्डलाई त्यहाँ नेपाली मुलका मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले स्वागतसमेत गर्नभएको थियो।

सोमबार मात्रै प्रचण्डले दक्षिण तथा मध्य एशिया हेर्ने एलिस जी वेल्ससँग पनि भेट गर्नुभएको थियो। भेटका क्रममा नेपालको शान्ति प्रक्रियाको उच्च प्रशंसा गर्दै एलिसले नेपालको विकास र स्थायि शान्तिका लागि अमेरिकाले सहयोग गर्दै आएको र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खोजेको बताउनुभयो ।

    Comment Here!


सम्बन्धित समाचार

View All