काठमाडौं, १२ चैत । प्रतिबन्धित अवस्थामा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले सरकारले चैत महिना भित्र फुकुवा नगरे आमहडताल गर्ने घोषणा गरेको छ ।
सोमबार बेलुका पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । तर त्यसअघि सोमबार नै बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवका सम्पूर्ण गतिविधि चैतभित्रै नियन्त्रणमा लिने दाबी गरेका थिए ।
प्रधानमन्त्री ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिना भित्रै नियन्त्रण गरिसक्ने बताएका हुन् । “उहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ,” प्रधानमन्त्री ओलीले भन्न्ुभयो , “विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने, चन्दा माग्ने, मान्छे मार्ने अनि अनि हँसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै ।”
सोमबार बेलुका नै विज्ञप्ति जारी गर्दै चैतभित्रै प्रतिबन्ध नहटाएमा र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्