आज नारी दिवस

शारदा शर्मा

2019-03-08 09:41


बिहानै उठेर घर सफा गर्न थालें। डेरामा बस्दा बरु कति आनन्द थियो । काठमाडांैमा घर बनाउने सपनाले अलि बढिनै मेहनती त पक्कै बनायो । र पनि दुःख थपिएको अनुभूति भयो । आज बल्ल बःल बनाएको यही घर सफा गर्न हम्मेहम्मे परेको छ। महिला दिवस भए पनि मलाई भन्दा चटारो श्रीमानलाई थियो ।

कुन कमिज लाउने, कुन तेल र कस्तो प्रफ्युम् लगाउने भनेर। तर मेरो काँधमा एक इन्च कमी नभैकन कामका चाङहरु यथावत नै थिए । पहिला त मलाई अलि बढी नै रिस उठ्थ्यो । तर आज म दुखी पक्कै थिइन । म एक्लै घरमा बसे पनि यी सबैकाम मेरै काँधमा थिए भने म परिवारमा छु।

कुनै न कुनै कुरामा सम्झौता नगरिकन जीवन कहाँ चल्छर ? असाध्यै नजिकबाट जब जीवन बुझ्न सक्ने सक्षम सम्झें आफूलाई । सामान्य घरको काममा आफूले आफूलाई अपमानित महसुस गर्न छोडिदिएँ । त्यसैले घरको काममा सहयोग गरेनन् भनेर म श्रीमानसँग रिसाउन छोडेको पनि धेरै भएछ। सायद त्यसैले पनि होला म आफ्नो कममा लागिरहें। बरन्डामा धारो खुलै रहेछ, हतार हतार गएर बन्द गरें। बाथरुमको ढोका लगाएको थिएन, गएर बन्द गरें । भिजेका टावेलहरु बाहिर घाममा सुकाए्ँ । बडारबुडुर गरेर पोचा लगाएँ । तातो पानी स्पेन्सरबाट गिलासमा भरेर चिया तयार गरे। आजकल चिनी राखेको चिया खान छोडेकाले ग्रीन टी भए हुन्छ, सजिलै छ । छोरीको कलेज र छोराको स्कुलको तयारी गरें । सिसाकलम तिखारेर छोराको ब्यागमा राखिदिएँ । जम्मा तीन कक्षामा पढ्छ । फेरि फाइनल जाँच आइसकेको छ ।


ब्रेकफास्ट मात्र गरेर कलेज जाने छोरीलाई अन्डा पाउरोटी बनाइदिएँ। माथिबाट श्रीमानले मिठो स्वरमा भन्नुभयो मलाइ कागती पानी बनाइदियौ ? किन नबाउने बाइदिएकी छु। ग्याँस प्याट्ट पारेर अन्डा बसालें । छोरी पनि ब्रेकफास्ट मात्र गरेर जान्छे । आजकलका स्कुलहरु दाल भात उतै ख्वाउँछन पैसा तिरेपछि। आठ बजे छोरा छोरी दुबैजना गाडी चढे । म फेरि काममा लागें । हतार हतार भित्र बाहिर पुछेपछि श्रीमानको लागि चिया तयार गरें ।


अब हामी दुइजना बुढाबुढी मात्र । खाना त बाहिरै खाए पनि हुने हो । तर बाहिर त्यत्ति खान मन लाग्दैन । म घरमानै खाना बनाउँछु । उनी पनि अफिसियल रुपमा हेर्दा फुर्सदिलो मान्छे पक्कै हैन । म पनि अफिसमा काम गर्छु। ब्रोकाउली लिएर किचेनको टेवलमा बसें तर्कारी काट्न । लाग्यो एकैछिन त आफू मेशिननै हुंँ । कति धेरै काम गर्न सक्या हो ? आफूले गरेको काम देखेर आफंै चकित परें । महिला भनेका मेशिन हैनन् भनेर भाषण दिनुपर्ने आजको दिनमा पनि आफ्ना कमले आफैलाई मेशिन भन्दा निकै अगाडि देखेर चकित बनें ।

यत्तिकैमा श्रीमानले झनै मिठो स्वरमा भन्नुभयो आउ केटाकेटी गइहाले अब के काम छ र ? त्यही भात पकाउने त हो । एकैछिनमा पकाए पनि हुन्छ। चिया लिएर आउ तिमीलाई पनि। रिसाउन पटक्कै मन लागेन । तर अचम्म लाग्यो । हैन यी बुढाले काम केलाई भन्छन होला ? बिहान देखि बेलुकीसम्म मैले गर्ने कामको कुनै हिसाब छैन । प्रत्येक दिन उनले आफ्नो कामको दुख सुनाउँछन् । मेरो कामको कुनै हिसाब छैन । हामी हरेक काम सल्लाहामा गर्छौैं । दुई जना बसेर योजना बनाएर नै गर्छौं । अफिसका मसिना भन्दा मसिना कुराहरुमा छलफल गर्छौैं । तर घर टोटल मेरो जिम्मामा छ। मैले नुन नरखीकन तरकारी पकाएको दिन थाहै नभए झैं उनलाई सोध्छु अलि चर्को भयो कि आज ? मुसुक्क मुस्कुराउँदै जवाफ दिन्छन एकदम ठिक छ। के भन्नु यस्तालाई स्वभाव जानिसकेपछि यस विषयलाई आफ्नो अधिकार हनन भएको पनि मानिन मैले । जबकि उनलाई तरकारीमा नून भएको नभएको समेत मेसो हुन्न । खानेकुरामा कहिल्यै गुनासो सुन्नै पर्दैन ।
अलि मसिनो स्वरमा भनें, आज नारी दिवस कार्यक्रममा पनि जानुछ । अलि छिटै पकाउँछु । पत्रिका पढेर चिया पिउँदै गरेका श्रीमानले सुने सुनेनन् थाहा भएन । मलाई भन्दा उनलाई नै हतार थियो । किनकी आज उनी पनि त नारी दिवसमा मनतब्य दिंदैछन् । म पनि बोल्ने कार्यक्रम थियो । छिटो छिटो गरेर खाना पकाएर खाइवरी हामी एउटै गाडी चढेर आ—आफ्ना कार्यक्रममा झ¥यौं । नारी दिवसको चटारो थियो। स्टार होटलको रौनक त्यहाँमाथि महिलाहरुको कार्यक्रम । चार नबज्ने समयसम्म फुर्सदिली थिएँ म। त्यसपछि सानो छोरो घरमा आइहाल्छ ।


गाडी झरेर दुइ पाइला पनि हिंडन नपाउँदै म भन्दा सानो उमेर दखिने दुइ तीन जना महिलाहरु हतार हतार दौडिदै मेरै नजिकबाट आए । हातको पर्स धन्नै खसेन। गाली गरें । कति हतार भा हो ? उनीहरु टक्क अडिएर सरी भने । अनि यति हतारमा अरुलाई नदेखेझैं हिंडेने ? आज महिला दिवस त्यही दिवसकी प्रमुख बक्ता मलाई यादै भएन त्यतिखेर । चर्कै कोकोहलो भने मच्याइसकिछु । उनिहरुले आफ्ना कुरा बेलिबिस्तार लाउन थाले। हेर्नु न हामी हतारमा छौं। मेरा श्रीमानले मलाई हेर्न छोडेको दुई वर्ष हुन थाल्यो । उनी आजकल न समयमा घरमा आउँछन् न छोराछोरीको वास्ता गर्छन् । आज महिला दिवस यहाँ कार्यक्रम छ रे । त्यहीं उनकी गलफ्रेन्ड पनि आउने रे । त्यही थाहा पाएर हामी उनिहरुको झाँको झार्न यहीं कार्यक्रममा आएको । म झस्याङग भएँ ।


साँच्चै महिला दिवस । मेरा श्रीमान पनि दुइथरी प्रफ्युम् छरेरै गा छन् । महिलाहरुको विषयमा भाषण गर्न । कि बुढाले बद्मासी गरेका छन् र हँ मेरा पनि के थाहा ? अलि घाँटी सुके जस्तो भयो । घरबाट पानी पिएर गए पनि उनिहरुका कुरा सुनेर तिर्खा लागेजस्तो भयो ।
हैन, मेरा बुढा त्यस्ता छैनन् । उनी सिधा छन् । त्यति मिठो स्वरमा बोलाउँछन् मलाई । मैले भनेको जे पनि मान्छन् अनि कसरी ? नभएको विश्वासलाई पनि झनै मजबुत बनाउँदै सोचें म पनि त सजधज आएकी छु। सरक्क सारीको फर्को पारें अनि निकै भलाद्मी पाराले सोधें हैन भएको के हो ? अनेक पिडाहरुलाई पत्र पत्र केलाउँदै जाँदा उनको आँखाका डिल भिजिसकेका थिए। सँगै आउने अरु दुई जना बहिनी पर्ने रहेछन् । दिदीको अधिकार सुनिश्चित गर्न आएका । समय भन्दा केही अगाडी पुगेका थियौं। सुटबुटका साथ महिला हिंसा बिरुद्वको भाषण दिन माधब सर आइपुग्नु भयो । माधब सरको हाउभाउ हेर्दा उनी देशको अर्थतन्त्रको विषयमा भाषण गर्न संसद छिर्न थालेका अर्थमन्त्री जस्ता देखिन्थे ।
नमस्कार सर, भनेको मेरो नमस्कार पनि नफर्काई उनी सभाकक्षमा प्रवेश गरे। म सँग आएकी श्रीमान पीडित झनै चर्को चिच्याउन थालिन। यही माधव सर त हो नि मेडम मेरो श्रीमान। हाम्रो कार्यक्रमकी संयोजक टुपुक्क आइपुगिन । मैले आइपुग्नु भयो नभन्दै उनी भित्र पसिन। हैन के भा हो सबैलाई । त्यति राम्रो रेस्पोन्सनै छैन। भित्र जान नपाउँदै उनीहरु भित्र छिरिसकेका थिए। सोचें माधव सर मेरो श्रीमान भन्दै आएकी महिला साँच्चै बोल्दैछिन या झुठ ?

उनीभित्र पसेर चर्काे स्वरमा कराइन । के को महिला अधिकार ? मलाई हेलाँ गर्ने बाहिर आइमाई राख्ने अनि अधिकारका कुरा गर्ने ? नडराइकन उनले आफ्ना भावनाहरु सुनाउँदै गइन् । महिला मुक्तिको लागि हिंड्दा हिंड्दै आफ्नो श्रीमानलाई समय नै दिन नभ्याएर छोडेकी हाम्रो कार्यक्रमकी संयोजक रितु मेडम लगाएतका आफूलाई महिलाहरुको समस्याका विषयमा बोल्न र आवाज उठाउन माहिर छौं भन्नेहरु कार्यक्रममा थियौं । ओ हो समस्या आयो । के उनले रुँदै सुनाएका कुरा साँचै हुन ? अनि माधव सर नै हुन त उनका श्रीमान ? मेरा आँखा तिर्मिराए । को होलिन् माधव सरसँग लागेर उनीहरुको परिवारको बिसर्जन गर्ने ति महिला ? सोचें केही थाहा नपाएकी सामान्य महिला होलिन् नभए त किन अरुको श्रीमानसँग लाग्थिन र ? हुन त आजकल पैसाको लागि जे पनि गर्छन् मान्छेहरु । माधव सरसँग पैसा छ भनेर लाग्यो की कोही। के भन्ने के नभन्ने। फेरि कार्यक्रमको प्रमुख वक्ता मलाइ नै बनाएका छन् । तर म भन्दा निकै जान्ने सुन्ने हौं भन्ने पनि सबै छन् । टेवलमा पानी थियो गिलासमा राखेर आधा सकाएँ । यत्तिकैमा माधव सर बोले फाइवस्टार होटल भन्ने ? चार्ज उत्तिकै महंगो लिने ? अनि जो पायो त्यही मान्छेहरुको प्रवेस यहाँ कसरी? सेक्युरिटी??? उनी चिच्याए । यता ति महिलाहरु रुँदै कराउँदै गर्न थाले। कसैले कुनै रेस्पोन्सिवल कुरै नगरे पछि मैले ति महिलालाई भने एकैछिन हल्ला नगर्नुस् ।
आज महिला दिवस । यहाँ हामी महिलाहरुका समस्या ,दुख पीडाको विषयमा बहस गर्दैछौं। उनका कुरा के हुन सुनौं । उनी पनि महिला हुन। सबै मुखामुख गरे।
अनि मैले मञ्चमा नै ति महिलाहरुलाई बोलाएर सबै कुरा सोधें। मधव सरले पहिला ति महिलालाई श्रीमती हुन पनि भनेन् । किस्ताबन्दी रुपमै उनले सबै कुरा स्वीकार गरिसकेपछि उनको प्रेमिकाको रुपमा उदय भएकी रितु मेडमको नाम आयो । आजकल हामी रिलेसनमा छौं ।

हैन, कति सजिलै ढांट्न सकेको ? कसरी ढाँठ्न सकेको ? घरमा लोग्ने हुँदाहुँदै समय दिन नसकेर छोडेकाले अर्काको श्रीमानलाई समय दिन कसरी सकेको ? अनि आफ्नी श्रीमती र छोराछोरी भएको मान्छे पनि अर्काकी स्वास्नीसँग कसरी ? संयोग थियो यो। वर्षौं सबैका प्रिय बनेका माधव र रितु दुबै मक्कार निस्केका थिए । सायद यही सम्बन्धको कारण हो या के दुबै जनाले डिप्रेसनको औषधी र डाक्टरको काउन्सिलिङ लिराख्ने रहेछन् । मलाई घृणा जाग्यो यस्ताहरुको पनि यति धेरै चुरीफुरी । जस्ले आफूलाई सम्हाल्न सकेका छैनन, आफ्नो घर सम्हाल्न सकेका छैनन । अनि जसले महिलालाई यतिधेरै यातना दिएका छन् ति महिलाकै विषयमा भाषण छाँट्ने ? अर्काका स्वास्नीलाई आँखा लगाउनेहरु, अनि अरुका श्रीमान भनेपछि मरिमेट्नेहरुलेनै झनै धेरै इमान र इथिक्सका कुरा गर्ने ?

थाहा नपाउने समयसम्मको उनिहरुको चुरीफुरी सम्झेर आफैप्रति रिस उठ्यो। यस्ताको संगत गरिएको रैछ। जो मान्छेमा जनावरमा जति पनि इमान्दारिता छैन, ति मान्छे मान्छे हुनै सक्दैनन् । सायद त्यही समय रितु मेडमका श्रीमान निन्याउरो मुख लिएर टुपुक्क आइपुगे । कार्यक्रमको अ‍ैपचारिक रुपमा सुरुवात र अन्त भएको भन्दै मैले माइक हातमा लिएँ। रितु र माधवको यात्रा आजबाट टुङ्गिनु पर्छ । माधवले आफ्ना छोराछोरी र श्रीमतीलाई माया गरेर राख्नु पर्छ। रितु आफ्नो श्रीमानसँग खुसी रहन सक्नुपर्छ। न्यायधिसको फैसला जस्तै भयो क्यारे कार्यक्रम पनि समाप्त भयो ।
महिला मुक्तिका गाथा गाउँदै गर्दा पुनः जोडिएका यी सम्बन्धहरु यतिधेरै मजबुत बनेछन् । सायद जीवन बुझेर चल्न जान्ने हो भने प्रत्येक बिहानीको किरणले नयाँ आयाम ल्याउन सक्छ । दुई सन्तानकी आमा बनेकी रितुले त्यतिखेरैबाट डिप्रेसनको औषधी छोडिछन् । उनले मलाइ जीवन दर्शन सुनाउँदै जाँदा म रमाइलो मान्दै सुनिरहें । छोराको युनिभर्सिटी हेर्न अमेरिका पुगेर भर्खर फर्केका माधवले पनि डिप्रेसनको औषधी खान छोडेको लामै समय भएछ । छुट्टा छुट्टै ठाउँमा भेटिएका यी दुई पात्रले आज पनि नारी दिवसको सम्झना गराए। सोचें आखिर जीवन र , खुसी सोचाइ र भोगाइको संगम हो । यहाँ भाषण भन्दा बढी रासनको आवश्यकता छ, अस्थिरता भन्दा बढी सुशासनको आवह्यकता छ । र आफूभित्रै बद्लावको आवश्यकता छ। थोरै भए पनि आफू नै बदलिन सक्नेहरुनै खुसी र सुखी रहन सक्छन् भने हरेक दिवसलाई बद्लावको रुपमा किन नमनाउने ?

    Comment Here!


सम्बन्धित समाचार

View All