पीएन क्याम्पसदेखि एक साताअघिसम्मको मेरो मित्र रवीन्द्र, अल विदा !

दुई हप्ता अगाडिमात्र हामीले मेरै कार्यकक्षमा झण्डै दुई घण्टाभन्दा बढी कुरा गर्यौं दोस्रो पटक । ती कुराकानीमा मैले निजी रुपमा उहांलाई धेरै आलोचना गरें ।

शुभशंकर कंडेल
2019-02-28 17:02

मैले नौ कक्षा पढ्दा बागलुङको भीमसेन माविले शैक्षिक भ्रमण ल्याएको थियो हामीलाई पोखरामा । त्यो बेला देवराज कंडेल सर भ्रमणटोलीका नेता थिए । हाल उनी अमेरिकामा बस्छन् । उनी त्यही पीएनबाट प्रवीणता तहको पढाई सकेर मास्टर हुन गएका थिए हाम्रो स्कुलमा । त्यती बेला पीएन क्याम्पस पञ्चायत विरोधी आन्दोलनको केन्द्र जस्तै थियो । त्यसको मेरो मनमा विचित्र आकर्षण थियो ।

देव्रतिरबाट दोस्रोमा सभापति रबीन्द्र अधिकारी सातौंमा लेखक तत्कालीन सदस्य, पीएन क्याम्पस पोखरा, २०४९, स्ववियू टिम । ती मध्येका एकजना गण्डकी प्रदेशका मन्त्री विकास लम्साल बसेको दायांवाट दोस्रो ।
देव्रतिरबाट दोस्रोमा सभापति रबीन्द्र अधिकारी सातौंमा लेखक तत्कालीन सदस्य, पीएन क्याम्पस पोखरा, २०४९, स्ववियू टिम । ती मध्येका एकजना गण्डकी प्रदेशका मन्त्री विकास लम्साल बसेको दायांवाट दोस्रो ।


त्यहीमेसोमा मैले पीएन क्याम्पसमा खुट्टा राखें । स्ववियुको अवलोकन गर्यौं । त्यतिबेला स्ववियू सभापति झलक सुवेदी थिए । मैले त्यहीबेला चिनें, उनले मलाई शायद ०४९ सालमा चिनें होलान् । सुवेदी सभापति भएको स्ववियुको बोर्डमा रवीन्द्र अधिकारीको पनि नाम थियो सदस्यका रुपमा ।

2072/interview. in abc news /outlook.


त्यो भ्रमणबाट फर्के लगत्तै म मसाल समूहको अखिलको पूर्णकालाीन कार्यकर्ता बनें । ०४७ एसएलसी पास गरेपछि संगठनको कामकै सिलसिलामा गण्डकी अञ्चलको जिम्मा लिएर म पीएन क्याम्पस आएं । त्यो बेला म मसाल समूहको अखिलको केन्द्रीय सदस्य थिएं । त्यही बेलाबाट मेरो रवीन्द्रजीसंग एक प्रतिद्धन्दी र साथीका रुपमा सम्वन्ध विकास भयो । पीएनमा तत्कालीन अखिल पांचौंको वर्चस्व थियो । स्ववियुको चुनावका लागि कसैको सहयोग चाहिने थिएन । तर रबीन्द्रलाई म फरक संगठनको भएपनि जसरी पनि स्ववियूमा लैजानु पर्दछभन्ने लागेछ । यता मेरो संगठनभित्रका मुखिया मोहनविक्रमसंग गम्भीर मतभेद सुरु भएर वाक्क दिक्क भएको थिएं । म राजनीति छाड्ने मानसिकतामा त्यतिबेलै पुगेको थिए । रवीनजीले रोक्नु भयो । रबीनजीले दुवै मसालसमूहका विद्यार्थी संगठनलाई स्ववियुको बोर्डमा राख्न चाहनु हुन्थ्यो । अन्ततः उहां सफल हुनुभयो । त्यहीबेला मेरो लामो छलफल भएको थियो झलक दाई र खगराज अधिकारीसंग । त्यही घटनाबाट म मसालबाट अरु बढी टाढिए“ं । राम्रै भयो । यसमा रवीनजीको पनि अप्रत्यक्ष योगदान रहन गयो ।


मैले तत्कालीन मेरो संगठनको एमालेसंग तालमेल नगर्ने नीतिका विरुद्ध पनि रबीन्द्रसंग खडा भएर झण्डै ११ हजारभन्दा बढी विद्यार्थीको चुनावमा रवीन्द्र अधिकारीसंगै भाषण गरे २०४९ सालमा । त्यस घटनाले मलाई अर्को स्थानमा खडा गरिदियो । रवीन्द्र अधिकारी सभापति भएको स्ववियुको म सदस्य भएं २०४९ सालमा ।
२०५३ देखि २०५७ सम्म त म रवीन्द्र अधिकारी अध्यक्ष रहेको अनेरास्ववियूको सदस्य नै भएर सम्भवत बाहिरयाहरुमध्ये सवैभन्दा म निकट भएं रवीन्द्र र योगेश भट्टराईसंग । पछि त्यी संगठनकी साहै्र मृदुभाषी सचिवालय सदस्य विद्या भट्टराईसंग रवीनजीको विवाह भयो । रवीनजी र योगेशजीको माथिसम्मको जे एप्रोच थियो ति सबैठाउंमा मलाई सहजै लैजानुभयो उहांहरुले ।
म फेरि ०५४ मा धौलागिरिको जिम्मा लिएर बागलुंग फर्कें । शायद उहांहरुको म मात्र विश्वसनीय कार्यकर्ता थिएं धौलागिरिमा ।

०५४ मै नेपालगन्जमा पार्टीको महाधिवेशन भयो । म स्वाभाविक रुपमा नै योगश र रवीन्द्रतिर लागें । महाधिवेशनको गेट अघि हामीलाई तत्कालीन संस्थापन पक्षले राम धुलाई गरे । तर सूर्य थापा सम्पादक रहेका भोलिपल्ट निस्कने एमाले मुखपत्र मानिने पत्रिका बुधबारले योगेशसंगै मलाईपनि संस्थापनको गुण्डानाइकेका रुपमा गोलो घेरामा फोटो छापियो ।

माधव नेपाल, वामदेव, योगेश र रवीन्द्र अधिकारीको निर्देशनमा मैले ०५४को चुनावी आन्तरिक कमाण्ड सम्हालें धौलागिगिरिको । ०५६ को निर्वाचनका बेला फुटेका पार्टीमा पनि हामी संगै भयौं । गर्ने नगर्ने राजनीतिक हथकण्डा उहांहरुको निर्देशनमा मैले धौलागिरिमा गरें । ०५४को स्थानीय चुनावमा बागलुंग नगरपालिकाको चुनावमा मेयर कसलाई बनाउने भन्ने ठूलो विवाद आएको थियो । हामी केही साथीहरु पोखरा आयौं माधव नेपाललाई भेट्न । उहां बाराही होटलमा बस्नुभएको रहेछ । साथम शीव पौडेल संगै हुनुहुन्थ्यो । सामुहिक कुरा पछि अरुलाई बाहिर पठाएर माधव नेपालले मलाई सोधे । पक्षको कुरा छोडौं बीचको बाटो बताउनुस् भन्नुभयो । मैले एक सेकेण्ड अलमल नगरी एमाले हुन तयार भए भने ऋषिराम सापकोटा(जो सजमोका केन्द्रीय सचिवालय सदस्य थिए । तर माओवादीबाट बाहिर निस्कन खोजेका थिए ।) बनाए हुन्छ भने । त्यसपछि उनी एमाले भएको ११ औं दिनमा बागलुंग नगरपालिकाको मेयरको उमेदवार भए । माधव नेपालको पनि धौलागिरिमा त्यतिबेला त्यसखालको म नै एकजना कार्यकर्ता थिएं ।

त्यतिबेला कुन बहानामा राजनीतिको गन्धानालीबाट म मुक्त हुने भन्ने खा्ेजीमा थिएं । त्यो क्षेत्रको राजनीतिक कार्यकर्तासंगै स्थापित पत्रकार भइसकेको थिएं । त्यही बेला काठमाडौं आएको बेला शायद बवरमहलतिरको योगेशजीको डेरामा हुनुपर्दछ । दुवै जनालाई मैले अव राजनीति छाड्ने निश्कर्षमा पुगेको सुनाएं । उहांहरु धेरै नै स्तव्ध हुनुभयो । एकदुई दिनपछि रवीन्द्रजीेले मसंग लामो कुरा गरेर राजनीति नछाड्न निकै जोड गर्नुभयो । तर साथीको त्यो प्रस्ताव मैले मान्न सकिन । २०५७ सालदेखि म पार्टीविहीन भएं । एमालेलाई लाग्यो यो माओवादी भयो भन्ने । माओवादीले त एमाले भन्ने नै भए । यो रोचक किस्सा शायद यही वर्ष समाप्त हुंदैछ । तर मेरो विद्यार्थीकालको अभिभावक बनेको जस्तै साथी गुमाएपछि मात्र ।

२०५८ देखि २०७२ सालसम्मको सफरमा मेरो परिवारले विचित्र यातना, हैरानी र वैचैनी खेप्नु पर्यो । तर रवीन्द्रजीसंगको एकखालको आत्मीय सम्वन्ध सधैं रह्यो । ०६८ तिर एउटा राजनीतिक दुर्घटना हुनबाट मैले उहांलाई जोगाएं“ । जम्माजम्मी यस्ता साथीहरु आफ्नो आदर्श र इमानमा टिक्लान कि नटिक्लान् भन्ने भने मनमा सधैं रह्यो । पछि रवीन्द्रजीले वामदेवको फेरो छाड्न नसकेकोमा मैले उहांलाई सधैं सवाधान गराइरहें । कहिलेकाहीं त हप्काएं पनि ।


म टेलिभिजन सञ्चालक र प्रस्तोता समेत भएकाले दुई पटक आउटलुकमा कुरा गरें । पहिलोपटक अधिकारी संसदको विकाससमितिको सभापति भएका बेला र दोस्रो पटक मेरा मित्र मन्त्री बनेपछि दोस्रो मन्त्रीको अन्तर्वार्ताका रुपमा । यद्यपी एबीसीको एक दशक लामो अन्तर्वार्ता श्रृंखलाको सवैभन्दा धेरै पटकको रेकर्ड शायद रवीन्द्रजीकै नाममा हुनु पर्दछ । यो वर्ष उहां मन्त्री भइसकेपछि हामीले मेरो कार्यकक्षमा तीन घण्टाभन्दा बढी अफ टर्याक छलफल गरेका थियौं पहिलो पटक । रवीन्द्रजीको दिमागमा देश विकास गर्न निकै ठूलो हुटहुटी थियो । उहा“ले समृद्धि नामक किताव पनि लेख्नुभयो । त्यसले नै उहा“को विकासप्रतिको निष्ठालाई झल्काउ“छ । जवकी राजनीतिकर्मीहरुले राजनीतिकै बारेमा पुस्तक लेख्ने चलनमा यो पृथकपना हो । तर मेरो हालै निस्केको अवतरण पुस्तक देखेर उहा“ यति भावुक र खुशी हुनु भयो । पढिसकेपछि भित्रको सूचना र विश्लेषणबाट बशिभूत भएको प्रतिक्रिया दिनुभएको थियो । शायद यसबारेमा उहा“ केही लेख्ने तयारीमा हुनुहुन्थ्यो कि ?


दुई हप्ता अगाडिमात्र हामीले मेरै कार्यकक्षमा झण्डै दुई घण्टाभन्दा बढी कुरा गर्यौं दोस्रो पटक । ती कुराकानीमा मैले निजी रुपमा उहांलाई धेरै आलोचना गरें । उहांले सहजै स्वीकार गरेर सच्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कम्तीमा पच्चीस वर्षको राजनीतिक राजकीय करिअरको योजना बनाएर अघि बढ्न सुझाएको थिएं मैले ।
बीचको चार दिन म बाहिर गएर हिजो दिउंसो मात्र काठमाडौ आएं । घरमा आएर एबीसी खोल्ने वित्तिकै म झण्डै मुर्छित जस्तै भएं । शारदा निकै व्याकुल बनिन् । प्रधानमन्त्री नवन्दै केपी ओलीसंग झापा जांदा भेट भएका मित्र युवराज दाहाल र त्यही बेलादेखि प्रत्यक्ष भेटेर निकै आत्मीय हांसीमजाक गरेको मित्र छिरिंग समेत त्यी हेलिकप्टरमा रहेको ब्रेकिङ्ग समाचारले मलाई नराम्रोसंग विथोल्यो ।


यस्ता घटनाले विविप्त त बनाउंछ । चराचर जिन्दगीमा जन्मसंग मृत्यु आउंछ । तर जन्म एक उत्सव हुन्छ भने मृत्यु एक त्रासदीपूणै पीडाको प्याला । आज ठीक त्यस्तै भएको छ । दिन र रात नै रोइरहको छ काठमाडौं र देशैभरपनि । शायद प्रकृतिले हाम्रो मित्रलाई हरण गरेकोमा प्रकृति नै पछुतायो कि ?


२०४८ देखि दुई हप्ता पहिलेसम्मको हाम्रो सम्बन्ध अव सदाका लागि स्मरणको पन्नामा सिमित भयो । तर मित्र तिमी अमर बन्यौ । कमसेकम कसैलाई बेइमानी गरेनौं । विद्याजीलाई मर्माहत बनायौं । हामीलाई त सधैंका लागि नुन विनाको तरकारी जस्तो राजनीतिक टिप्पणी लेख्ने तहमा झार्यौ मित्र । तर तिमीले कहिल्यै बेइमानी गरेनौं । यसमा फेरि पनि हामीलाई गर्ब छ कि तिमी पनि हाम्रा साथी थियौै भनिरहंदा । हामी सबैलाई थाह छ पद क्षणिक हो, मित्रता र उसको कर्म अमर हो । तर यो यति धेरै हतारमा भयो कि जसको कुनै हिसाव नै हुन सक्दैन ।

अन्तमा हार्दिक श्रद्धान्जली मित्र, गहिरो समवेदना विद्या भट्टराई र छोरा विराज सहित सानो बाबु । यो एक नियतिको खेल हो भन्नु बाहेक हामीसंग के नै बांकी रह््यो र ? फेरि पनि मलाई गर्व छ मेरो मित्र रबीन्द्रले गणतन्त्रकालागि शंखनाद गर्यो । हामीसंगै पारसका विरुद्ध नारायहिटी अघि खडा भयौं । त्यसकै सिलसिलमा सामन्तवादको जुवा समाप्त भयो । मित्र तिमी कास्केली जनताको आंखा बन्न सफल भयौ । नेपाली राजनीतिमा एक नडामिएका निश्कलंक छबि बनेर हाम्रो समेत गौरब बढायौै ।

अहिले म निशव्द छु मित्र रवीन्द्रजी । तर लेख्न धेरै मन छ । अहिले के लेख्ने के लेख्ने भन्ने द्धिविधामा छु । त्यसमाथि छोटो अवधिको मिठो मित्रता युवराज दाहालले यसरी चांडै छोड्लान भन्ने त कल्पना पनि थिएन । प्रिय छिरिंग दाईलाई अर्को दश वर्ष जिस्क्याइरहुंला भन्ने कति ठूलो गुनासो सदाका लागि रहिरहने भयो । तर पनि छिरिंग दाईले पर्यटन क्ष्ँेत्रमा नेपाललाई एउटा मानक दिएर मात्र छाडेनौं सधैंभर लो प्रोफाइलमा बसेर हाइप्रोफाइल काम गर्न कहिल्यै चुकेनौं ।

https://www.youtube.com/watch?v=9fttJquJFxE
तसर्थ, आगामी दिनलाई सुन्दर बनाउने जिम्मा नियतीले छाडेका जिवित आत्माहरुकै हो । सबैले गम्भीरतापूवक सोचौं । विद्याजी मन दरो बनाउनुस् । रवीन्द्रजीले छाडेको अधुरो काम मुटुमाथि ढुंगा राखेर भए पनि पूरा गर्नै पर्दछ । सम्भवत रवीन्द्रकाप्रतिको मृत्युको निष्ठुरताको बदला तपाईले लिनु पर्ने पनि हुन सक्छ । त्यसका लागि तपाईं सदा तयार रहनै पर्दछ । चुनौति सामना गर्नु र स्वीकार गर्नु जस्तो ठूलो कुरा अरु केही नभएको चाणक्यको सर्वथा उम्दा नीति र उपदेश हो । यो मिथ मात्र होइन । तेइस वर्ष पहिलेको प्रमाणिक ग्रन्थ कौटिल्यको अर्थशास्त्रको सार हो । मित्र रवीन्द्रजी अल विदा ।

    Comment Here!


सम्बन्धित समाचार

View All