काठमाडौ,२९ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल भारतमा आयोजना हुने आतङ्कवाद नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
आगामी फागुन १ र २ गते सञ्चालन हुने १९औँ ‘सिनर्जीष्ट नेशनल रेस्पोन्स टु इमजजिङ एण्ड टेरोरिष्ट थ्रेट’का विषयमा हुने सेमिनारमा सहभागी हुन आज भारत प्रस्थान गर्नुभएको हो ।
उहाँँसँगै राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारीसमेत त्यसतर्फ जानुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उक्त कार्यक्रममा विभिन्न देशका प्रहरी प्रमुख तथा विशिष्ट प्रहरी अधिकृतसँग अन्तरक्रिया हुने भएकाले अन्तर्राष्ट्रियस्तरमा सुरक्षासम्बन्धी सम्बन्ध विस्तार हुने र नेपालको आन्तरिक सुरक्षाका संवेदनशीलताका विषयमा विश्लेषण गर्न सहयोग पुग्ने विश्वास लिइएको कार्यालयले जनाएको छ ।
उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।
प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीलाई प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्