काठमाडौं, २७ पुस । वरिष्ठ न्यायाधिश दिपकराज जोशीले न्यायको बाटो छाडेकाले संवैधानिक इजलासबाट हटाउनु परेको प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराले बताए ।
बहालवाला वरिष्ठ न्यायाधिश जोशीलाई कामको जिम्मेवारीबाट हटाउने काम गरिएको भन्दै नेपाल बार एशोसिएशनले प्रश्न उठाईरहेका बेला जोशीले न्यायको बाटो छोडेर कुबाटोमा लागेकाले संवैधानिक इजलासबाट हटाउनु परेको प्रधानन्यायाधिश जबराले स्पष्टिकरण दिए ।
‘जो मान्छे न्यायको विवेकलाई, न्यायको आचरणलाई कायम राख्न सक्दैन, त्यस्ता व्यक्तिलाई प्रधानन्यायाधिशको रुपमा आफूले घर फर्काउन सक्ने अवस्था नरहेको’ प्रधानन्यायाधिश जबराको भनाई छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वरिष्ठ न्यायाधिश जोशीले ‘न्यायको मन्दिरमा बलिरहेको द्धिपलाई निभाउने क्रियाकलाप गरेको’ आरोप पनि लगाए ।
गत विहिबार प्रधानन्यायाधिश जबराको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले वरिष्ठ न्यायाधिश जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय गरेको थियो ।
त्यसप्रति नेपाल बार एशोसिएनको आपत्ति छ । कार्यक्रममा बोल्दै बारका अध्यक्ष शेरबहादुर केसीले बहालवाला न्यायाधिश जोशीलाई किन जिम्मेवारी नदिएर गलत काम गरेको भन्दै तत्काल सच्याउन प्रधानन्यायाधिश जबरासँग माग गरे ।
उनले जोशीलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गराउने प्रयास भएकोमा आपत्ति जनाउँदै तत्काल नसच्याए त्यो गलत काम हुने र त्यसले प्रधानन्यायाधिश जबरालाई पश्चातापबाहेक अरु केही नदिने दावी पनि गरे ।
यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल बार एशोसिएशनले जोशीलाई संवैधानिक इजलासबाट हटाउने न्याय परिषदको अधिकारमाथि धावा बोलेको भन्दै आपत्ति जनाए ।
उनले सर्वोच्च अदालतका न्यायाधिशलाई इजलास तोक्ने अधिकार प्रधानन्यायाधिशलाई रहेको उल्लेख गर्दै त्यसमाथि प्रश्न उठाउन नपाउने तर्क पनि गरेका छन ।
मन्त्री ढकालले जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय सही भएको उल्लेख गर्दै त्यसमा बहस गर्न आफू पनि तयार रहेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्