काठमाडौं,१ पुस । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महासमिति सदस्यहरुले पार्टीको बृहत्तर एकतामा जोड दिएका छन् ।
शनिबारदेखि काठमाडौंमा जारी महासमिति बैठकको बन्द सत्रमा बोल्ने महासमिति सदस्यहरुले पार्टीको बृहत्तर एकतामा जोड दिएका हुन् ।
आइतबार दिउँसोबाट शुरु भएको छलफलमा बोल्ने महासमिति सदस्यहरुले पार्टीको राजनीतिक दस्तावेजलाई थप परिमार्जन गर्दै समग्र रुपमा रुपान्तरण भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बन्दसत्रमा बोल्ने महासमिति सदस्यहरुले पार्टीको राजनीतिक दस्तावेजलाई थप परिमार्जन गरेर जानुपर्ने, पार्टीलाई सुदृढ बनाउनका लागि सांगठनिक प्रतिवेदनमात्रै होइन समग्र रुपमा रुपान्तरिक भएर जानुपर्नेमा जोड दिएको प्रवक्ता शर्माले जनाकारी दिनुभयो ।
कांग्रेसले यसअघि बैठकमा प्रस्तुत भएका प्रतिवेदनहरुलाई ७ वटा समूह बनाएर प्रदेश स्तरीय रुपमा छलफल अघि बढाउने तयारी गरेको थियो । बैठक स्थलमा समूहगत छलफलका लागि स्थानको अभाव भएपछि उक्त तयारी अनुरुप छलफल हुन नसकेको बताइएको छ ।
महासमिति बैठकमा आइतबार बिहान महामन्त्री डाक्टर शशांक कोइरालाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन, सहमहामन्त्री तथा अर्थ नीति निर्माण समितिका संयोजक डाक्टर प्रकाशशरण महतले आर्थिक दस्तावेज प्रस्तुत गर्नुभएको थियो ।
शनिबार उद्घाटन भएको महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश भएको थियो । ५ वटा प्रतिवेदन पेश हुनु पर्नेमा महासमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव पेश गर्न भने बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्