काठमाडौं,२५ मङसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
सेयर बजार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले सो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा उहाँले सेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार प्रतिवेदन बुझाएपछि सरकारले सो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने योजना पनि सुनाउनु भयो ।
अर्थमन्त्री खतिवडाले सेयर बजारलाई व्यवस्थित बनाउन विज्ञहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिन पनि समितिलाई आग्रह गर्नु भयो ।
अर्थमन्त्री खतिवडाले स्व:पूँजीमार्फत् राष्ट्रिय पूँजीको निर्माण गर्न सरकारले सेयर बजारलाई आधुनिक बनाउन चाहेको दावी पनि गर्नु भयो । बैठकमा समितिका सदस्यहरुले सेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न सरकार र सेयर लगानीकर्ताबीच छलफल गर्न ढिलाई गर्न नहुनेमा जोड दिएका थिए ।
समितिका सदस्य एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारमा देखिएको समस्या तत्काल समाधान गर्न सरकार र सेयर लगानीकर्तालाई सचेत गराउनु भयो ।
समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने सेयर बजारलाई सरकार आफैंले निरुत्साहित बनाउने काम गरेको उल्लेख गर्दै आपत्ति जनाउनु भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता समेत रहनु भएका उहाँले वर्तमान सरकार बने यता किन सेयर बजार ओरालो लाग्दै गएको हो ? भन्ने पहिचान गरी अघि बढन पनि सरकारलाई सचेत गराउनु भयो ।
केही दिन यता सेयर बजार ओरालो लाग्ने क्रम बढेर गएपछि सेयर लगानीकर्ताहरुले पनि सेयर बजार सुधार गर्न सरकारसँग माग गर्दैै आन्दोलन गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्