काठमाडौं,२४ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दु:खद रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले पन्तको परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्दै भन्नुभयो, “दोषीको पहिचान ढिलोचाँडो हुन्छ, कुनै हालतमा दोषी उम्कन सरकारले दिने छैन ।” उहाँले सरकार सधैँ मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले थप्नुभयो, “विद्यालय जाने धेरै बालबालिका अझै पनि बाहिर रहेकाले आगामी वर्षदेखि कोही पनि बाहिर रहन नदिनका लागि सरकारले तयारी शुरु गरिसकेको छ ।”
उहाँले विगतका वर्षहरुमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हुँदा यस वर्ष चिसोबाट बचाउन शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।
आयोगका अध्यक्ष अनुपराज शर्माले सबै तहका सरकार मानवअधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई कारवाही गर्न छिटोभन्दा छिटो कारवाही चलाउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्