हार्दिक श्रद्धाञ्जली प्रचण्ड पुत्र प्रकाश ?!?

शारदा शर्मा
2018-11-19 12:56
शारदा शर्मा

शारदा शर्मा

बिगतका धेरै बर्षहरु भन्दा यो एकबर्षमा एकजना मान्छेको मुल्य निकै बढेको अनुभुती भयो । बिडम्बना जब जीवनको मुल्य बढ्न थाल्यो जीवननै रहेको थिएन । अचम्म लाग्यो । समाजको रित र यहा मान्छेले मान्छेलाई गर्ने ब्यवहार देखेर । बाँचुन्जेल जिनाहराम गर्न तयार हुनेहरु पनि मृत्यु पछि जय–जयकारमा लागेको देख्दा अचम्म लाग्यो !

हैन यो परापुर्वकालको नियम हो या मानिसले मानिसलाई गर्ने ब्यवहार ? आजपनि समाजका केही मान्छेहरु यौटा जिवित मान्छेको सानो पत्ता लिएर बसेको छ बिरोध गर्न । उसका हजारौ राम्रा कामहरुको मुल्याँकन हैन यौटा सानोकुराको बिरोध गर्न । सायद बिरोधको सिमा र साँध नबुझेका मै हुँ भन्नेहरु आफुलाई ऐनामा हेर्न तयार नै छैनन् । तर जव कुनै कुरा समाप्त हुन्छ त्यसको समर्थनमा पेलेकार्ड लिएर अगाडी पनि उनिहरुनै लाग्छन । बिचित्रको छ समाज यहाँ कलियुगका सकुनीहरु अाफ्नै बनेर आफ्नालाइनै दुर्योधन बनाउन लागेको समय साँच्चै प्रकाश तिमी अभिमन्यु बन्न सकेनौ । अन्तत जीवनले तिमीलाई छोड्यो ।

बाँचुन्जेल अरुको नामसग जोडेर सानाकुराको पनि बिरोध गर्नेहरु तिम्रो श्रद्धाञ्जलिमा निकै अगाडी छन । लाग्छ बाँचुन्जेल गल्तिलाई सच्याएर अगाडी बढ्न सकिन्छ भनेर कल्पना गर्न नसक्नेहरुको यो रुवावासी देख्दा म अचम्ममा छु । ताल र लय नमिलेको समयमा पनि तिमीमा संगित भरिएको छ भनेर प्रसंसाका कथा बुन्नेहरु तिम्रो पावर प्रयोग गरेर आफ्ना अभिष्ट पुरागर्नेहरुले कहिल्यै तिमी नराम्रो भनेन अगाडी । तर पछाडि उनिहरु साफ थिएनन । पैसा सम्पत्ति नाम र नाता जोडेर प्रहार गर्नेहरुको लस्करमा उनिहरुनै नदेखिने गरी अगाडि थिए । दुनियाको नियति हो या कतिपयको बाध्यता ? यहाँ राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न निकै सकसछ । सबै नाटक गर्न आतुर छन् । सुझाब सल्लाहकोलागि हैन बिरोधको लागि सानाभन्दा साना पत्ताहरु कतिखेर प्रहार गर्न सकिन्छ । नत यहाँ राम्रोलाई राम्रो भनिन्छ न नराम्रो । देखेर भेटेर जानेर बुझेर हैन सुनेर बिरोध गरिन्छ ।

प्रकाश तिमी प्रकाश बन्न खोजेउ तर न तिमी प्रकाश बन्न सकेउ न प्रकाश बन्न दिइयो । प्रचण्ड पुत्र भनेर तिम्रा राम्रा नराम्रा सबै कामहरुमा लाहछाप लगाउदै बिरोध र समर्थन गर्नेहरुले आफुलाई सफलताको चुचुरोमा देखिरहे । जव तिमी समाप्त भयौ फेरि तिनै प्रचण्ड पुत्र भनेर हरेक राम्रो र नराम्रोको हिसाब किताब खोज्नेहरुले तिमीलाई मात्र प्रकाश भनेर नाटक गर्न थाले । तिम्रो महानताको बखान भएको यो एकबर्षले मलाइ निकै पिरोल्यो सायद यो बखानको थोरै अंश बाँचुन्जेल भएको भए प्रकाश निभ्न बाध्य हुनेथियो र ? जव शोक रोगमा परिणत हुन्छ बाँच्न निकै कठिन हुन्छ । र पनि तिमी केही गर्न सक्ने अवस्थामा थिएनौ ।

आज पनि आमाका आँशुहरु सकिएर क्षितिजमा ओझेल परेको समय तिमी हेर्न बाहेक बोल्न र गर्न सक्ने अवस्थामा छैनौ । तिम्रो पीडाले थिचिएर घायल बनेकी आमाको उपचारमा तिमी संलग्न हुने परिवेशमा छैनौ । तिम्रो अभावले अस्तब्यस्त बनेको बाबुको दैनिकी सम्हाल्न सक्ने अवस्थामा छैनौ । मन र मुटुका अनेक धडकनहरुमा पल बिताएका रात गन्न बिवस तिम्रा जीवनसंगिनीहरु संग दुख बाँड्न सक्ने अबस्थामा छैनौ । सयपत्री ओइलिएर केस्रा केस्रा पर्दा दुखको पोटली खोतल्न नसकेका दिदी बहिनीको साथ दिन सक्नेमा छैनौ । बाबुको औला समाएर तोतेबोली बोल्दै उनिहरुलाई जीवन र भबिष्यको मार्ग देखाउन सक्नेमा छैनौ । छौ त टुलुटुलु हेरेर तमासा देख्नेमा । सायद आज अनेक परिवेशहरु देख्दा तिमीले आफुलाई बुझ्ने अवशर पक्कै पाएको छौ ।

तिम्रो गल्तीमा ताली बजाएर डाली भर्न खोज्नेहरुको नियत पक्कै पनि प्रवृत्तिगत रुपमा आज पनि छरपस्ट छ । तिम्रा गल्तीहरुलाई सच्याउन सुझाव र सल्लाह दिनेहरु भन्दा तिम्रो बा को नाम संग जोडेर बाँच्न नदिनेहरु पनि छुट्टै तिम्रो नाममा शब्द श्रद्धाञ्जलि दिइरहेका छन । आज पनि धेरै प्रकाशहरुको प्रकाशको मधुरो रापले पोलिएर आफ्नो असुरक्षा देख्नेहरु उही लयमा छन् । जब समयमा हरेक कुराहरुलाई बुझ्न सकिंदैन प्रकाशको तेज राप पनि धमिलो बन्दै जाने रहेछ । यो बिचित्रको दुनियामा जब प्रकाश मात्र प्रकाश बन्ने कठिन सफरमा थियौ तिमीलाई ढलाउन खोज्नेहरु सफल भए । उमेरको ख्यालनै नगरी जीवनले तिमीलाई छोड्न बिवस बन्यो । अनगिन्ती हिसाब किताबहरुको चाङ अनि अभावको गहिरो खाडल छोडेर तिमी समाप्त हुँदा धेरैले आफ्नो उदय देखे । तर त्यो सम्भव पनि त थिएन । अरुको समाप्तीमा आफ्नो उदय देख्नेहरुको स्वभाव आज पनि बदलिएको छैन ।

भाइ, कोही स्वार्थले जोडिन्छन कोहि भावनाले, कोही आशाले जोडीन्छन कोही नसाले । कतिपय भरोसाले पनि जोडिन्छन जव भरोसा डगमगाउन थाल्छ दुरी बढ्न सक्छ भरोसा कायमनै रहन्छ । सुझाव र सल्लाहको नाममा पनि कतै स्वार्थ जोडिएको हुन्छ कतै आशा र भरोसा । जस्को लागि भरोसाको जन्मिन तयार हुन्छ उ नै नभए पछि त्यो भरोसा डगमगाएर हल्लिन थाल्छ ।
यो एक बर्षमा प्रचण्ड पुत्र प्रकाश मात्र प्रकाश बनेकोमा मलाई खुसी लाग्यो । प्रचण्डसंग जोडेर प्रहार गरिने क्षप्यास्त्रहरु फुलबनेर प्रकाश भन्दै बर्षिदा म रोमाञ्चित पनि भए । नाम र नातासँग जोडेर समयअनुकुल आफ्नो स्वार्थ, रिस र आवेगमा गरिने प्रहारको सामना तिमीले जत्तिकै हामीले पनि गर्न परेकोले आफुलाई यसमा अलि अनुभवी पनि लाग्यो।

तिमी बिनाको यो एक बर्ष कतिलाई साँच्चै अभावको आभाष भयो कतिलाई राम्रै नाटक मन्चन गर्ने समय । असाध्यै छिटो बगेको समय पनि युग–युग जस्तो बनेको अनुभव तिम्रो परिवारले बाहेक अरु कस्ले महसुस गर्न सक्ला र ? तिमी बिनाका हरेक पलहरु तिम्री आमाको लागि कठिन रोग बनेर खडा भएको समय यसको उपचार गरेर आमाको मुहार फेर्न अब कुनै डाक्टरले पनि सक्ने छैनन । दुनियां राम्रो गरेर बाँच्छु भन्नेहरुको लागि निकै कठिन छ भाइ यहाँ बाँच्न नदिनेहरुको लस्करले आजपनि तिमीजस्ता धेरै प्रकाशहरु निभ्न बाध्यछन ।

सिकाइ बुझाइ र गराइको महासंग्राममा जस्ले सिक्न सक्छ, सिकेर पनि ब्यबहारमा लागु गर्न सक्छ । बुझ्न सक्छ अरुलाई बुझाउन सक्छ । स्वार्थ, छलकपट, आरिष र जलनबाट मुक्त बनेर परिवार, समाज र देशको लागि थोरै सत्य बोल्न सक्छ, राम्रो गर्न सक्छ । मुख्यत हर कुराहरु बुझेर आफुलाई बदल्न सक्छ । त्यो नै महान बन्न सक्छ । बाँचुनजेल प्रचण्ड पुत्र बनेर प्रहार गरिएका तिमी आज प्रकाश बनेर छाईरहदा हार्दीक श्रद्धाञ्जली बाहेक केही छैन । फेरि पनि शब्द श्रद्धाञ्जली भाई प्रकाश ।

    Comment Here!


सम्बन्धित समाचार

View All