काठमाडौं ,२५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको देशप्रेम, इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय भएको बताएका छन् । ६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले उक्त करा बताएका हुन ।
बलात्कार, हिंसा, हत्याको नियन्त्रण तथा अनुसन्धानमा प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न योगदान पुर्याएको भन्दै प्रशंसा गरेका छन ।
नेपाल प्रहरी सदैब जनताको सुरक्षाको पहरेदार र सेवकका रुपमा स्थापित भएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुक विभिन्न सशस्त्र द्वन्द्वमा गुज्रँदा सीमित स्रोत र साधनका बीच आन्तरिक सुरक्षा कायम गरेको स्मरण गरेका छन ।
प्रहरीले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको तथ्यांक पेश गर्दै उनले साख जोगाउन अझ बढी व्यावसायिक हुन सुझाव दिए ।
शान्ति सुरक्षा र अमन चयन कायमका लागि प्रहरीको मनोबल बृद्धिमा जोड दिएका प्रधानमन्त्रीले यसका निम्ति सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन ।
ठूलो राजनीतिक उथल पुथल र परिवर्तनपछि देश समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने अभियानमा रहेको स्मरण गराउँदै उनले यसका लागि शान्ति सुरक्षा पहिलो आवश्यकता रहेका बताएका छन । यसका लागी प्रहरी आगामी दिनमा थप जिम्मेवार सक्रिय हुनुपर्ने उनले बताए ।
प्रविधिको दुरुपयोग गरेर अन्तरदेशीय रुपमा हुने अपराध, आतंकवाद, अतिवाद दिनप्रतिदिन नयाँ स्वरुपमा देखापरेको भन्दै त्यसलाई रोक्न छिमेकी देशहरुसँग सम्बन्ध विस्तार गर्न समेत प्रधानमन्त्रीले जोड दिएका छन ।
प्रतिक्रिया दिनुहोस्