मामाको मृत्युको समाचार लेख्दा…

डण्ड गुरुङ
2018-10-03 17:56

साढे दुई दशकभन्दा लामो पत्रकारिता यात्रामा धेरै दुर्घटनाका समाचार लेखेँ । धेरै दुःखका खबर लेखेँ । धेरै आरोह–अवरोहको भोगेँ । कुनै पनि घटना त यस्तो हुँदो रहेछ, मनले नमानेर पनि समाचार लेख्नैपर्ने, सम्प्रेषण गर्नैपर्ने । यस्तै भयो भदौ २३ गते मेरो जीवनमा ।

म बेलायत भ्रमणमा थिएँ । नेपालका हरेक घटनाक्रमबारे चासो नहुने कुरै भएन । राजनीतिक होस वा अन्य घटनाक्रम नियालिरहेकै थिएँ । एबीसी टेलिभिजनको फेसबुक पेजमा एउटा समाचार आयो– नुवाकोटमा हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी । दुर्घटनाका खबरबारे म बढी नै चासो राख्ने गर्छु । लामो समय अपराध र सुरक्षाबारे रिपोर्टिङ गरेकाले पनि मलाई अपराध, दुर्घटना र त्यसबारेका अनुसन्धान बढी नै चासोको विषय हो ।

हेलिकप्टर दुर्घटनाका खबर अपडेट हुँदै थियो । हेलिकप्टरमा रहेका सातै जनाको मृत्यु भएको खबर आयो । ओहो, बर्वाद भएछ भनेँ । बेलायतमा विभिन्न कार्यक्रम र भेटघाटमा अलि व्यस्त नै थिएँ । केहीबेरमा फेरि समाचार अपडेट हुन मनलाग्यो । काठमाडौंस्थित एकजना प्रहरीका एसएसपीलाई फोन गरेँ । छ जनाको मृत्यु भएको रहेछ । एकजना घाइते अवस्थामा रहेको खबर पाएँ । मृतकको सनाखत नभएको ती एसएसपीले भनेँ । आफू बाहिर देश भएकाले जानकारी आयो भने भाइबर वा फेसबुक मेसेन्जरमा जानकारी दिनुस भनेँ । यो कुराकानी भएको एक घण्टापछि ती एसएसपी सापको मेसेज आयो, म त छाँगाबाट खसेझै भएँ । त्यो दुर्घटनामा त मामा (कान्छा काकाको कान्छो सालो) डिल्ली गुरुङको पनि निधन भएको मेसेज रहेछ । मैले हत्त न पत्त ती प्रहरी अधिकारीलाई फोन गरेँ । यो नाम एकपटक फेरि राम्ररी रुजु गर्नुस त भनेर । उनले फिस्टेल एयरले निकालेको विज्ञप्ति नै पठाइ दिए । पत्याउन बाध्य भएँ । घरमा फोन गरेँ । श्रीमती दिनुले पनि घटनामा मामाको निधन भएको कुरा टेलिभिजनमा आफूले समाचार हेरेको र माइजुहरुसित सम्पर्क नभएको बताइन् ।

विदेशमा छु, म छटपटिएँ । के गरौं, कसो गरौं भयो । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा मामाको निधन भएको थियो । भाइ पारस र रोहित गुरुङको फेसबुकमा मामाप्रति श्रद्धाञ्जली देखे । झन् मन आत्तियो । दुर्घटनामा मामासहित हेलिकप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको निधन भएको थियो । घाइते हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–२ की ल्हो आनी डोल्पा डिकीको भने काठमाडौंमा अहिले उपचार जारी छ ।

समाचार संकलन गर्ने, लेख्ने त हाम्रो पेशा नै भयो । आएका समाचार अनलाइनमा अपडेट गर्नैप¥यो । तर, यसपटकको समाचार लेखाई जीवनमा पहिलोपटक सा¥है नरमाइलो मान्दै लेखेँ– आफ्नै मामाको मृत्युको खबर । मामाको निधन भएको जस्तो अहिलेसम्म पनि लागेकै छैन मलाई । विगत दुई तीन दिनदेखि निरन्तर मामालाई सपनामा देख्दै आएको छु । सपनामा गुम्बाहरुमा डुल्दै गरेको, लरक्क परेको जुल्फी हावाले फरर पारेको अवस्थामा मामालाई देख्छु । बोल्नु हुन्न । तर, गएराति मामालाई फेरि पनि कता हो कता गुम्बातिर हिडिरहेको देँखे । मैले बोलाएँ, तर बोल्नु भएन । एकोहोरो हिडिरहनु भयो । म व्युझिएँ । सपना रहेछ ।

भनिन्छ सपनामा पनि आत्मीय मानिस मात्र आउँछन् । नाताले डिल्ली मामा, तर हामी साथी पनि हौं । उहाँ र म एकै साल जन्मिएको रे । तर उहाँ र ममा मामाभाञ्जा र साथी दुवैको साइनो थियो । त्यसैले पनि होला, मेरो सपनीमा मामा आउनुहुन्छ । बोल्नुहुन्न । अचेल मामालाई कतै गुम्बातिर पो भेटिन्छन् कि जस्तो लागिरहन्छ । गुम्बातिर जान्छु, उहाँको आत्माशान्तिको कामना गर्दै बत्ती बालिदिन्छु ।

बेलायतमा रहेकाले उहाँलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि आउन सकिनँ । १३ दिने काजक्रियामा आउनका लागि टिकट मिलाउन सकिनँ । त्यसैले पनि मामाले सपनामा भएपनि सम्झाउनु भएको हो कि जस्तो लागिरहेछ । बाउबाजेले भनेको सुने अनुसार मृत्यु भइसकेको मानिसलाई सपनामा देखियो भने बिहान उठेर नुहाईधुवाई पानी दिनु । हरेक दिन त्यही गरिरहेको छु तर पनि मामालाई सपनामा देख्न छाडेको छैन ।

जेठा मामा पिताम्बर उमेरका हिसावले पनि होला मामाभाञ्जाकै रुपमा छौं । डिल्ली मामा र मबीच भने धेरै कुराको शेयरिङ हुन्थ्यो । उहाँले जहिले पनि ठूलो मामा पिताम्बरप्रति कृतज्ञता देखाउनु हुन्थ्यो । त्यसको खास कारण भनेको ठूलो मामाकै कारण डिल्ली मामा पनि पर्यटन व्यवसायमा लाग्नुभएको थियो । ‘दाइकै कारणले यो व्यवसायमा आइयो’ भनेर कान्छा मामा भन्ने गर्नुहुन्थ्यो । यही पेशा अपनाउँदा अपनाउँदै उहाँ हेलिकप्टर दुर्घटनामा पर्नुभयो । हामीबीच सम्झना मात्र छाड्नुभयो ।

माया गर्ने मामा
आमापछिको मामा निकै प्रिय लाग्ने । खास कारण छन् । मेरो आमाको खास दाइ एकजना मात्र हुनुहुन्थ्यो । यामबहादुर गुरुङ, उहाँ हेडमास्टर । पानी थुनिएर खोल्न खोज्दा घरकै करेसोमा सानो पहिरोले पुरिएर बित्नुभयो । त्यसबेला म सानै थिएँ । मामाको माया खासै पत्तो पाउन सकिएन । गाउँमा मावली सानो बाजेका तीन भाइ छोराहरु पनि मेरा मामा । एक भाइ छत्रबहादुर त मेरो साथी सरहकै मामा हुनुहुन्छ । तारा मामा उमेरले जेठो, सानो मामा सानै भइहाले । मावली सानो बाजे भीमबहादुरका छोराहरु सबैले भाञ्जा भनेर मलाई माया गर्ने ।

मेरो कान्छा काका तुंगध्वजको रामेछापको भित्तरी गाउँमा विवाह भयो । मामाहरु दुई भाइ हुनुहुँदो रहेछ । ठूलो मामा पिताम्बर, सानो मामा डिल्ली । आवतजावत हुन्थ्यो । ठूलो मामाचाहिँ काठमाडौं बस्ने पर्यटन क्षेत्रमै काम गर्ने, सानो मामा चाहिँ भित्तरीमै पढ्दै हुनुहुन्थ्यो । ठूलो मामाले पठाउनुभएको चिठी मैले नै पढेर काकाक्ष्यामा, बोजु, बाआमालाई सुनाउँथे । ठूलो मामाको अक्षरचाहिँ छापै हुने । भेट त मेरो काठमाडौं आएपछि भएको थियो ।

सानो मामा डिल्ली र म त यतिसम्म कि लाहुरे हुनलाई सेटप पनि सँगै हानेको । भदौको महिना थियो । २०५२ सालको कुरा हो । हामी रस्नालुकोमा गल्ला आउँछ भनेर ब्रिटिश आर्मीमा भर्ना हुन भनेर गएका थियौं । सिन्धुली रानीखोलाबाट चाहिँ छत्रबहादुर मामा र म गएको थिएँ । भित्तरीबाट बेताली हुँदै रस्नालु पुगेर गल्ला अगाडि सामेल भयौं । भर्ना हुन सकिएन ।

हामी फर्कियौं । बेताली स्कूलमा भलिबल खेल भइरहेको रहेछ स्थानीय युवाहरुबीचमा । लौ मेरो भाञ्जा सिन्धुलीबाट आउनुभाछ, उहाँलाई पनि खेल्न दिनुपरो भनेर डिल्ली मामाले भन्नुभयो । मैले पनि एक गेम भलिबल खेलेँ । त्यसपछि स्कूल नजिकैको एक घरमा उहाँ भित्र पस्नुभयो । ‘रानीखोलाबाट भाञ्जा आको, भोक लाग्यो होला, मकै भुटेको छैन दिदी’ भन्नुभयो । हामीचाहिँ बाहिर बसेर सुनिरहेका थियौं । मकै रहेनछ, आलुचाहिँ पाकिराको रहेछ । भित्र बसौं भन्नुभयो । चिन्नु न जान्नु । भित्र गइयो र आलु, अचार र मही टन्न खाइयो ।

मावलीघर (भित्तरी) फर्कँदै थियौं । घर आइपुग्ने बेलामा एउटा खोला छ । ‘भाञ्जालाई त निंग्रो औधी मनपर्छ नि हगि ?’ भन्नुभयो । मैले पनि ‘अँ मामा’ भनेँ । उहाँ त सिस्नुघारी पन्छाउँदै निंग्रो खोज्न झाडीतिर छिर्नुभयो । ड्वाँठे निंग्रो मलाई खुब मनपर्ने कुरा उहाँलाई थाहा थियो । २०÷२५ वटा टिपेर बाटोमा आउनु भयो । जुका त लपक्पै । जुका टिपेर फेरि निंग्रो टिप्ने भनेर अलि तल पुग्नुभएको थियो । चिप्लिनुभएछ । चिप्लेपछि उहाँले त सिस्नो पो झ्याप्पै समाउनु भएछ । आथाथा… भन्दै आउनु भयो । गाउँघरमा सिस्नोले पोल्यो भने सिँगान लगाउने चलन छ । उहाँको सिगानै आएन । छत्र मामाको पनि सिँगान आएन । मैले प्रयास गरेँ । त्यही सिँगान दलिदिएँ । निंग्रो बोकेर घर आइयो ।

मावलीमा बाजेबज्यैले हामीलाई असाध्यै माया गर्ने । त्यसबेलासम्म बाजेबजैकै साथमा नाती नतिजा नभएको । भगवती बहिनी सानै थियो । मावल पुग्ने कुरै भएन । मेरा लागि पनि मावली हजुरबाआमासित बस्न पाउँदा छुट्टै खुशी लाग्ने । यता सिन्धुलीमा मेरो मावली हजुरबा भुटानतिर ठूली आमासित बस्नुहुन्थ्यो । मावली हजुरआमा त हामी नजन्मँदै बित्नुभएको रे । त्यसैले पनि मावलीमा गएर बाजेबज्यैको माया पाउँदा अति खुशी लाग्ने । भित्तरीमा मावलीको तल्लो र माथिल्लो दुई घर थियो । जेठा बाजेबज्यैको माथिल्लो घर थियो । ढुंगाले छापेको बाटो थियो । माथिल्लो घरको बाजे (हाल कपनस्थित दलबहादुर मामाको बुवा) को त हाँसो न गज्जबको । मावली जाने भनेपछि निकै रमाइलो लाग्ने । म भित्तरी दुईपटक पुगेको छु ।

तीन/चार दिन भित्तरी बसियो । फड्के थापेर चरा पोलेर खाइयो । पाहा मारियो । मामा र हामी रमाइलो गरेर बसियो । त्यसपछि हामी रानीखोला फर्कने दिन डिल्ली मामाले मेरो झोला बोक्नुभयो । ‘ल भाञ्जा, म अलिमाथिसम्म पु¥याउँछु’ भन्नुभयो । गाउँबाट चोक्टेतिर तर्ने पुलसम्म आउनुभयो । मलाई झोला दिनुभयो । हामी पुल तरिसकेका थियौं । उहाँ पनि फेरि आउनुभयो । ‘यो चोक्टे कटाएर फर्कनुप¥यो’ भन्नुभयो । उहाँ त्यसरी नै आउँदा आउँदा धेरै माथिको डाँडासम्म आउनुभयो । बोजुले बाटोमा भोक लाग्छ भनेर पठाइदिनुभएको चाम्रे भात तीनै जना भएर खायौं, त्यो डाँडाबाट डिल्ली मामा र हामी छुट्ने कुरा भयो । मामा त हामीसँगै रानीखोला जाउँ कि जस्तो पो गर्नुभयो । उहाँले हामी धेरै वर आउँदासम्म हामीलाई हेरिरहनुभयो । हामीले देख्न छाडेपछि सायद उहाँ फर्कनुभयो । रानीखोला उहाँ पनि आइरहने । रानीखोला आएर पनि अति नै घरको काम सघाउने उहाँचाहिँ । मलाई चाहिँ त्यति घाँसदाउरा गर्न नआउने ।

काठमाडौंमा हामी
पछि मामा पनि काठमाडौं आउनुभयो । भेटघाट भइनै रहन्थ्यो । विस्तारै हामीमा सामाजिक दायित्व पनि बढ्न थाल्यो । तर, गाउँमा जस्तो हामीमा धेरै समय गफगाफ गर्ने फुर्सद पनि मिलेन । घरमा पूजाआजा, विवाह ब्रतबन्ध, मरउपरउमा भेटघाट हुने । उहाँ पूरै पर्यटन क्षेत्रमा काम गर्नुभयो ।

उहाँ दुई सालअघि एकदिन मेरो अफिसमा आउनुभयो । त्यो दिन हामीबीच लामै कुराकानी भयो । हामीबीच पैसा कमाइकै निकै लामो चर्चा भयो । काठमाडौं घडेरी किन्ने तयारी गरेकोबारे छलफल भयो । ‘कमाई यस्तै हो भाञ्जा, पाखाभित्ता चाहिँ बेस्सरी घुमियो’ भन्नुहुन्थ्यो– ‘आफूले धेरै पढ्न नसकेपनि अबको पुस्तालाई चाहिँ टन्नै पढाउनुपर्छ । त्यसकै लागि त यो दुःख ।’ हामीबीचमा निकै ठट्टा पनि चल्ने ।

हामी दुबै व्यस्त व्यस्त नै । मामा अधिकांश समय (सिजनमा) ट्रेकिङमा हुने । मामाले रमाइलो ठाउँमा पुगियो भने फेसबुक चलेको बेलामा फोटो पठाउने । ‘यहाँ त यस्तो रमाइलो पो रहेछ भाञ्जा’ भन्दै पठाउनु हुन्थ्यो । उहाँ साँच्चै भन्ने हो भने कसैप्रति नराम्रो नबोल्ने स्वभावको हुनुहुन्थ्यो । त्यसैले पनि उहाँ पर्यटन क्षेत्रमा राम्ररी नै जम्नुभयो भन्ने मेरो बुझाइ हो । सिजनको बेलामा त राम्रो कमाइ हुन्छ भाञ्जा भन्नुहुन्थ्यो । आफूले धेरै पढ्न नसकेपनि बच्चाहरुलाई चाहिँ राम्रो पढाउनुपर्छ भन्नुहुन्थ्यो । तर, उहाँले यति चाँडै हामीलाई छाडेर जानुहुन्छ भन्ने लागेको थिएन । मामाका स–साना छोरीछोरा छन् । अबोध नानीबाबुलाई छाडेर जाने मन त कहाँ थियो होला र मेरो मामालाई । तर, हे दैव, यति खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा मेरो प्यारो मामालाई किन चटक्कै चुढेर लग्यौं ?

अहिले बारम्बार सपनीमा आइरहँदा मेरो मामा यतै कतै ट्रेकिङ गएको होला जस्तो लाग्छ । ‘राम्रो ठाउँ पुगेको बेला म भिडियो खिचेर ल्याउँछु, भाञ्जालाई काम लाग्छ दिन्छु नि’ भन्नुहोला कि जस्तै लाग्छ । कतैबाट ‘लौ यो गज्जबको ठाउँ रहेछ भाञ्जा’ भनेर फेसबुकको म्यासेञ्जरमा फोटो पठाउनु हुन्छ कि झै लाग्छ । तर, यो अब सम्भव हुने कुरै होइन । मामाको सम्झनाबाहेक अब हामीसित केही रहेन । उहाँले मेरो फेसबुक म्यासेञ्जरमा पछिल्लो एउटा सबैतिर शेयर हुँदै आएको एक सन्देश पठाउनुभएको रहेछ । मामा जानु भएपनि हामीलाई आशिर्वाद दिइरहनुभएको रहेछ भन्ने लागेर यो सन्देश यहाँ साभार गरेको छु ।
‘आज राम्रा राम्रा असल मान्छेलाई सम्झने दिन हो । त्यसैले मैले आज हजुरलाई सम्झेको छु । यो सन्देश राम्रा राम्रा इमानदारी, स्वच्छ छबि भएका, निस्वार्थी, सहयोगी, असल, चरित्रवान, मिलनसार, कुसल साथीहरुलाई मात्र पठाएको छु । यदि १६ वटा सन्देश फिर्ता आयो भने म आफुलाई भाग्यमानी सम्झने छु । धन्यवाद’

मामा, म तपाईलाई यो सन्देश सम्प्रेषण गर्न असमर्थ भएकोमा क्षमा चाहन्छु । तपाईको स्वर्गबास होस् । आत्माले शान्ति पाओस् । सप्रेम भावपूर्ण श्रद्धाञ्जली मामा ।। अलबिदा ।।

    Comment Here!


सम्बन्धित समाचार

View All