काठमाडौं,२९ भाद्र । प्रधानमन्त्री केपी ओलीले सरकारले सुशासन र आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले हरेक नेपालीलाई सुःखसहितको समृद्ध बनाउन सरकार प्रतिवद्ध रहेकोे पनि दावी गर्नु भयो । उहाँले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ बनाउने परिकल्पनालाई साकार पार्न सबै क्षेत्रको सहयोगको आवश्यक्तामा पनि जोड दिनु भयो ।
शुक्रबार काठमाडौंमा आयोजित एक आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दूई तिहाई बहुमतसहितको सरकारको मुख्य लक्ष्य छिटो आर्थिक समृद्धि रहेको पनि दोहो¥याउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई पनि पुनः आह्वान गर्नु भयो । नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले सरकारले कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पार्नु भयो । उहाँले बन्द भएका उद्योगहरुको पुनः संचालन गर्ने योजना पनि अघि सार्नु भयो । प्रधानमन्त्री ओलीले लगानी सुरक्षित हुँदैनकी भनेर चिन्ता नलिन पनि लगानीकर्तालाई आग्रह गर्नु भयो ।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताउनु भयो ।
कार्यक्रममा सत्तारुढ भारतीय जनता पार्टीका नेता गोपालकृष्ण अग्रवालले आर्थिक प्रजातन्त्रबारे चर्चा गर्दै भारतको आर्थिक विकासबाट नेपालले लाभ लिन सक्ने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्