बालिका हत्या घटनाले प्रदेश नै स्तब्ध भएको छ : प्रदेश मन्त्री शर्मा

2018-09-01 16:23

महोत्तरी,१६ भाद्र । प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताउनुभएको छ ।

आज औरहीमा स्थानीयवासीसँगको छलफल कार्यक्रममा उहाँले बालिकाको हत्यामा संलग्न हुनेलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानूनअनुसार कारबाही गर्न महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई निर्देशन दिनुभयो ।

राज्यमन्त्री शर्माले उक्त घटनाको सत्य, तथ्य र निश्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रदेश सरकार र स्थानीय प्रशासन गम्भीर रहेकाले आन्दोलनको स्वरुप परिवर्तन गरी अपराधी पक्राउ गर्नमा सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य जैइनुल राइन र जिल्ला समन्वय समितिका अध्यक्ष सुरेश सिंहले घटनाको अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन र छिटो भन्दा छिटो अपराधीलाई पक्राउ गरी विधिको शासन स्थापित गराउन स्थानीय प्रहरी प्रशासनलाई सहयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले उक्त घटनामा संलग्नहुनेको खोजी कार्यलाई प्रहरीले व्यापक बनाएको हुँदा चाडै नै अपराधी पक्राउ पर्ने विश्वास दिलाउनुभयो ।

मृतकका बाबु सन्तोष चौधरीले छोरीको हत्या गर्ने अपराधी पक्राउ गर्नु नै आफ्नो लागि सबैभन्दा ठूलो उपहार हुने बताउनुभयो ।

गत आइतबार महोत्तरीको औरहीबाट बालिका सोनालीलाई अपहरण गरी हत्या गरेको घटनालाई लिएर स्थानीयले प्रदर्शन गर्दै विगत पाँच दिनदेखि औरही बजार बन्द गराएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All