किन बढ्दैछन् वलात्कारका घटना ?

नैतिक शिक्षाको अभाव

निम्लेकी शेर्पा
2018-08-21 13:59

गत दुई वर्ष यता नेपालमा वलात्कार र वलात्कार जन्य घटना बढेका छन् । ६ महिना अघि प्रहरी प्रधान कार्यालयले मातहतका निकायहरुलाई परिपत्र जारी गरी महिला हिंसाका घटना नियन्त्रण नभएको भन्दै परिपत्रै जारी गरेको थियो । यो विग न्यूज तयार गर्दैगर्दा फेरि चितवनमा दुई किशोरी सामुहिक वलात्कृत भएको समाचार सार्वजनिक भएको छ । मानिस किन यति धेरै हिंस्रक हुंदै गएको छ ? मानिस भित्रको के तन्तुले काम गरेको छ कि महिला देख्नै नहुने ? किन यति धेरै हिंसाका घटना बढिरहेका छन् ? प्रश्न गम्भीर छ । सिंगो राज्य नैतिकवान बन्न नसक्दा समाज सांस्कृतिक रुपमा भ्रष्टिकरण हुंदै गएको छ । भ्रष्ट सोचका कारण सांस्कृतिक विचलन दिनप्रतिदिन बढ्दो छ । नैतिक शिक्षाको अभावमा मानिसमा बढ्दै गएको जंगली स्वभावका कारण यौनजन्य हिंसाका घटनामा वृद्धि भएको छ । कमजोर राज्यले आफ्नो कानुनलाई प्रभावकारी रुपमा प्रयोग गर्न सक्दैन । जसका कारण दिनप्रतिदिन वलात्कारजन्य हिंसाका घटनाको पारो बढ्दै गएको छ ।

हिंसाको बढ्दो पारो
महिलामाथि हुने विभेद, अन्याय र शोषण अन्त्यका लागि भनेर देशभर महिलाविरूद्ध थुप्रै अभियान सञ्चालन भैरहेका छन् । तर महिला हिंसाविरुद्ध जति नै आवाज उठाइए पनि खासै औचित्यपूर्ण बन्न सकेको छैन । नेपालमा बर्सेनी बलात्कारका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै देशभर एक हजार ४ सय ८३ वटा बलात्कारका घटना भएका छन् । विशेष गरी ११ वर्ष देखि १६ वर्षका बालिकाहरु बलात्कारको शिकार बनिरहेका छन् ।

निम्लेकी शेर्पा

गत असार २६ गते घरबाट किताब किन्छु भनि हिडेकी १७ बर्षिय कबिता बिष्ट किताब किन्न त के बा“च्न पनि पाइनन । उनको बलात्कार पछि हत्या भयो । यो घटना सेलाउन नपाउदै साउन १० गते बिहिबार भिमदत्त नगरपालिका २, उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको पनि बलात्कार पछि हत्या भयो । घरबाट होमर्क गर्न भनि साथीको घरमा गएकी १३ बर्षीय निर्मला पनि बलात्कार पछि हत्याको शिकार बनिन् । साउन १ गते पुनर्वास नगरपालिकाकी भंैसी चराउन गएकी एक ३९ बर्षिय महिलामाथि ३० बर्षिय नरेस रानाले जबरजस्ति बलात्कारको प्रयास गरे । पुनर्वास नगरपालिकामै साउन ४ गते ९ बर्षिया बालिका बलात्कृत भइन । साउन १० गते शुक्लाफाटा नगरपालिका ८ नौखुरीकी २० बर्षिया महिलालाई घरमा एक्लै भएको मौका छोपी ३२ बर्षिय विन्तिराम चौधरीले बलात्कार गरे । साउन १६ गते फेरि पुनर्वास नगरपालिकामै १६ बर्षिय बालिकालाई २६ बर्षिय बिकास बुढाले जबरजस्ति बलात्कार गरे । साउन १९ गते भिमदत्त नगरपालिका १० जिमुवाकी ५ बर्षिय बालिकालाई ४० बर्षिय लक्ष्मण कोलीले बलात्कारको प्रयाश गरे । गत असार र साउन महिनामा सुदुर पश्चिमका यि जिल्लामा बलात्कारका घटनाले वितन्डा नै मच्चायो ।

सुदुर पश्चिममा मात्र होइन, राजधानीबाट केहि कोश मात्र टाढा रहेको काभ्रेमा पनि बलात्कारका घटना मौलाए । गत असार २० गते काभे्र तेमालकी नौ वर्षिया एलिसा तामाङको बलात्कारपछि हत्या भयो । असार ३२ गते तिमाल गाउ“पालिकाकै एक बालिका गाउ“कै विकास थापामगरबाट बलात्कृत भइन ।

प्रहरी तथ्यांक अनुसार काभ्रेमा वैशाख यता मात्रै बलात्कार उद्योगका चार वटा र बलात्कारका तीन वटा घटना दर्ता भएका छन् ।

यी घटनाहरु केहि उदाहरण मात्र हुन् । नेपालमा बर्सेनी बलात्कारका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्रै देशभर एक हजार ४ सय ८३ वटा बलात्कारका घटना भएका छन् । जुन गत आर्थिक वर्षको भन्दा ३० प्रतिशत बढि भएको प्रहरीले जनाएको छ । विशेष गरी ११ वर्ष देखि १६ वर्षका बालिकाहरु बलात्कारको शिकार बनिरहेको छ । प्रतिकार गर्ने नसक्ने भएकोले पनि यो उमेर समुहका बालिकाहरु बढि शिकार बनेको प्रहरीको अनुमान छ ।

गत आर्थिक वर्ष २०७३/०७४ मा एक हजार १ वटा जबरजस्ती करणीका घटना भएकोमा यो वर्ष ४ सय ८२ ले बढेको छ । यस्तै आर्थिक वर्ष ०७२/७३ मा ९ सय ६३ वटा बलात्कारका घटना भएकोमा ०७१/७२ मा भने ९ सय ८१ वटा बलात्कारका घटना भएका छन् । जसमा प्रदेश १ मा बढी बलात्कार हुने गरेको तथ्याङकले देखाएको छ । आर्थिक वर्ष २०७४/७५ मा १ नम्बर प्रदेशमा बालिका तथा महिला गरी ३ सय ८४ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये २ सय २१ बालिका र १ सय ६६ महिला छन । त्यस्तै दोस्रो नम्बरमा प्रदेश ५ परेको छ । प्रदेश नम्बर ५ मा २ सय ६९ वटा बलात्कारका घटना भएका छन् । जसमध्ये १ सय ६६ बालिका छन् भने १ सय २ जना महिला र एकजना उमेर नखुलेकी महिला छन ।

यी त केहि देखिएका र बाहिरा आएका घटनाहरु हुन् । बालिका मात्र होइन ६० बर्ष कटिसकेका वृद्धाहरु समेत करणी तथा यौनजन्य हिंसाको शिकार बन्नु सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । ठाउं र परिवेश अनुसार घटनाको तौरतरिका पनि अलि भिन्न छ । तर बलात्कार पछि हत्या गर्नुले अझ क्रुरता बढेको छ । समाजमा आएका केहि सामाजिक जनचेतनाका कारण घटनाहरु सार्वजनिक हुनु सकरात्मक पक्ष्ँ हो । तर घटना भएर उजुरी गर्नुमा अड्किएको सामाजिक जनचेतना घटना नै हुनु नदिन सम्म पु-याउनु सररोकारवाला निकायको ध्यान जाने हो की ।

नैतिक शिक्षाको अभाव
त्यसो त, पीडितमाथि विभेद गर्नेहरुलाई सामाजिक अपराधीको रुपमा लिइन थालेको छ । तर यस्ता सामाजिक अपराध फेरि नदोहोरियोस् भन्नका लागि नियन्त्रणको ठोस प्रयास नहुनु भने लज्जास्पद छ । के कारणले समाजमा महिलामाथिको हिंसा बढेको छ ? बलात्कार जस्ता जघन्य अपराधका घटना किन बढिरहेका छन् नेपालमा ?

सामाजिक रुपान्तरण विकास, शसतिmकरण, जनचेतनाका लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुको सहयोग तथा पहलमा बर्षेनी करडौको योजना सञ्चालन गर्ने परिपाटी बढ्दो छ । तर नेपालमा हुने घरेलु हिसा तथा यौनजन्य हिंसाका घटना भने घट्नुका सट्टा झनै बढ्दै गएको छ । विगत पा“च वर्षको तथ्याङ हेर्ने हो भने, हरेक वर्ष २० देखि ५० को हाराहारीमा बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा बलात्कारको घटना ३० प्रतिशतले बृद्धि भएको तथ्याङक छ । राज्यले यस्तो जघन्य अपराध गर्ने दोषीलाई कडा कारवाहीमा प्राथमिकता नदि“दा विकृतिले प्रश्रय पाइरहेको सरोकारवालाहरुको तर्क छ ।

बाल विवाह, लैङ्गिक हिंसा र घरेलु हिंसाजस्ता सामाजिक अपराधका घटनाविरुद्ध चेतनामूलक कार्यक्रमहरु आजभोली सामान्य बनि सकेका छन । तर पछिल्लो समयमा भइरहेका घटना जनचेतनाका नाममा करोडौ बजेट खर्च गर्नेहरुका लागि गतिलो प्रहार हो । हुन त, मानिसहरु झन झन शिक्षित हु“दैछन् र पुर्वधार स्रोत र साधनहरुको परिपुर्ति हु“दै गएको छ, तब तब यस्ता घटनाक्रमहरु बढ्दै जानु पक्कै पनि राम्रो होइन । यस्ता गम्भिर विकृतिका विषयमा बहस तथा पैरवीहरु भने सुरु हुन थालेका छन ।

त्यसो त हाम्रो देशको कानुन उत्कृष्टताको कसीमा अब्बल ठहर्ने कानुन हो तर कार्यान्वयनमा शुन्यता छ । कागजमुखी कानुन यसको सबैभन्दा ठुलो जड भएको विज्ञहरुको तर्क छ । पछिल्लो समय सामाजिक संरचना खलवलिएको छ, शिक्षित नागरिकमा नैतिक शिक्षाको कमी र कानुनको अनभिज्ञताका कारण यस्ता घटना बढ्ने गरेको बताउंछन् अपराधशास्त्री माधव आचार्य । त्यो स“गै अपराधीलाई राजनीतिक छायां छ त्यसैले पनि अपराधीको मनोबल बढेको उनको तर्क छ ।

जर्वजस्ती करणी तथा यौनजन्य हिंसा जस्तो जघन्य अपराध निरन्तर हुनु हाम्रो देशको कानुन नै हो । सरकारबाट कानुन नागरिकका लागि हो कि सरकारले हो भन्ने दुविधा छ । कानुन तर्जूमा साथै कानुन नागरिकका लागि हो र सबैले जान्नु पर्छ भन्ने भावना जगाउन सरकार असफल छ । सहकार्य र समन्वय पनि गर्न नसकेको बताउछन, महिला अधिकारकर्मी बन्दना राणा । औपचारिक तथा अनौपचारिक शिक्षा नभएको र कानुन नै दोषी भएको उनको तर्क छ ।

नेपाल प्रहरी महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार अपराधिक क्रियाकलाप बढ्नुमा पारिवारिक तहबाट नै नैतिक शिक्षा दिन नसक्नुको परिणाम भएको तर्क छ ।

आमा समूहको क्रियाशीलता, सरकारी तथा गैरसरकारी निकायले गरेको चेतनामूलक कार्यक्रमले समेत गाउ“मै गुपचुप हुने यस्ता घटना प्रहरीसम्म आउने गरेको कारण पछिल्लो समय घटनाको संख्यामा वृद्धि देखिएको समाजकल्याण परिषदको तर्क छ ।

कानुनको प्रभावकारीताको सवाल उठ्दै गर्दा प्रहरी भने आफुहरुले अनुसन्धान र अनुगमनमा कमि नगरेको दावी गर्छ । पछिल्लो समय भैरहेका धेरै घटना आफ्नै घर परिवारका सदस्य वा नजिकका नातेदारबाट हुने गरेको छ । जुन प्रहरीका लागि जटिल विषय हो । तर आफुहरुले हरेक क्षेत्रमा हुने गरेको घटना तुरुन्त दर्ता र अनुगमन गरी कारवाहीको दायरामा ल्याएको दाबी गर्छ प्रहरी । ९० प्रतिशत अपराधीहरु पक्राउ गरेको बताउंछन् प्रहरी प्रवक्ता शैलेश थापा ।

धेरै जसो घटना अदालतसम्म नै पुग्दैन कारवाहीको दायरामा आइपुगेका अपराधिहरु मिलेमतो उम्कने गर्छन । अदालतमा पुगेका फैसलाहरु पनि कहिले फैसला हुन्छ थाहा हुन्न । गत वर्ष ३ सय १७ वटा बलात्कारका घटनाहरु सर्वोच्वमा पुगेका थिए । तर अहिले सम्म ३९ वटा मुद्धाहरु मात्र फैसला भएको छ । झन्झटिलो प्रक्रिया हटाइ महिला हिंसाका मुद्दा फस्र्याेट गर्नका लागि सर्वोच्च अदालतले २०६६ मै फास्ट ट्रयाक अदालत गठन गर्न आदेश दिएको थियो । न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (०७१/७२–०७५/७६) मा फास्ट ट्र्याक अदालतको अवधारणा अझै अन्योलमा छ । कानुनको कार्यन्वयनमा प्रश्न उठिरहेको बेला यसतर्फ पनि सबै निकायको ध्यान जान आवश्यक छ ।

सामाजिक रुपान्तरणका नाममा वर्षेनी करोडौं रुपैयां खर्च गरिन्छ । तर, नेपालमा महिला हिंसाका घटना घटेका छैनन्, बरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७४/७५ मा मात्रै बलात्कारको घटना ३० प्रतिशतले बृद्धि भएको तथ्याङक छ । एकातिर नागरिकमा नैतिक शिक्षाको अभाव छ भने अर्कोतिर, जघन्य अपराध गर्ने दोषीलाई कडा कारवाही नहुंदा विकृतिले प्रश्रय पाइरहेको छ ।

पीडितलाई न्याय कसरी ?

समाजमा आइरहेको सामाजिक जनचेतनाका कारण उजुरी दर्ताको क्रम बढिरहेको छ । तर दर्ता मात्र समस्याको समधान होइन । त्यस्तो घटना हुन नदिनु नै बुद्धिमानी हो । र, भइसके पनि त्यसको तुरुन्त कारवाहीसहित पीडितले न्याय पाउनु महत्वपुर्ण विषय हो ।

कानुन राज्य सञ्चालनको मुख्य आधार हो । कानुन भन्दा माथि कोहि पनि हुन सक्दैन । जुनसुकै हिंसा वा आपराधिक क्रियाकलाप नियन्त्रणको आधार कानुन नै हो । तर नेपालको सन्दर्भमा यी सबैको परिपालनका लागि नीति तथा कानुन जति कडा बनाइन्छ, कार्यान्वयनको पाटो उति नै फितलो हुने गर्छ । नागरिकलाई कानुन छ भन्ने बाहेक अरु केहि थाहा छैन । कानुनका बारेमा जानकार हुनुपर्छ भन्नेमा नत नागरिक सचेत छन न त सरकार नै । कानुन भनाईमा मात्र सीमित छ । त्यति मात्र होइन यहा कानुन र दण्डमा पनि विभेद छ ।

यो भन्दा फरक पर्दैन नेपालमा मान्छेको स्तर हेरेर कानुनको कार्यान्वयन हुन्छ । यसैले भनिएको होला–न्यायका नौ सिङ् हुन्छन् । अर्कोतर्फ अपराधीलाई राजनीतिक दलले नै प्रश्रय दिइरहेका छन । अपराधको राजनीतिकरणले समाजलाई भ्रष्टिकरण गराउंछ । समाजमा भ्रष्टहरु पैदा भएमा सामाजिक उत्तरदायित्व समाप्त हुन्छ । समाजलाई विकृत बनाउंदै जानुमा आम पहुंचमा रहेका इन्टरनेट साइटहरु पनि हुन् । अश्लिल सामाग्रीको लतमा फसेको मनोविज्ञानले जैविक आवश्यकता पुरा गर्न कै लागि यस्ता गलत धन्दाको प्रयोग गर्छ । अनुसन्धानमा देखिएका र बारम्बार देखिने यी महत्वपूर्ण विषय हुन् । यसको प्रयोगका बारेमा घरपरिवारबाट नै यस विषयमा आफ्ना बालबालिकालाई सचेत गराउनु आवश्यक रहेको प्रहरीको भनाइ छ । अपराधिक क्रियाकलाप मात्र नभइ मानसिक विरामी पनि हुन सक्ने भएकोले यसको विकल्प पनि खोज्न आवश्यक रहेका उनीहरु बताउंछन् ।

देश संघीयतामा गइसकेको छ । प्रभावकारी कानुन मुलुकी संहिता कार्यान्वयन आएको छ । तल्लो तहबाट नै राज्यले सक्रियतापुर्वक काम गर्छ भन्ने खालको जनचेतनासहित कानुन कार्यन्वयन र नियमनमा तदारुकता आउन सके समस्या समाधानतर्फ लाग्ने बताउंछन अपराधशास्त्री माधव आचार्य । भनिन्छ, अपराध त्यहा“ हुन्छ जहा“ भाग्ने अवसर छ । घुम्ती अदालत राखेर आम जनतालाई कसुर गरेपछि दण्ड हुन्छ ज्ञान दिन सके अपराधीले अपराध गर्न आ“ट नगर्ने उनको धारणा छ ।

पछिल्लो समय धेरै बलात्कारका घटनाहरु सार्वजनिक हुनु समाजमा जनचेतनाको प्रभाव हो । पहिले घरभित्रै पीडा दवाएर बस्ने पिडितहरु अहिले प्रहरी चौकीसम्म पुग्न थालेका छन् वा उनीहरुमा त्यस्ता घटना भए उजुरी दिन प्रहरीकहा“ पुग्नुपर्छ भन्ने चेतना आइसकेको छ । त्यसैले कानुनको प्रभावकारी कार्यन्वयन र अपराधीलाई अपराध बमोजिम दण्ड गर्न सरकारले सबै सरोकारवाला निकायहरुसंग समन्वय गरी काम गर्न आवश्यक रहेको बताउ“छिन महिला अधिकारकर्मी बन्दना राणा ।

नया“ मुलुकी फौजदारी संहिता अनुसार जबर्जस्ती करणीपछि हत्या गरे आजीवन जेल बस्नुपर्ने छ भने जन्म कैदको हालको व्यवस्थामा पाँच वर्ष थप गरी २५ वर्ष पुर्याइएको छ । यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २१९ मा भएको बलात्कारसम्बन्धी व्यवस्थाले करणीसम्बन्धी कसुरमा १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्षसम्म कैद दश वा दशभन्दा बढी र चौधवर्ष भन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्मको कैद, चौध वर्ष वा चौध वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्ष कैद, सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद, अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैदको सजाय तोकेको छ । तर अहिलेको माग कानुन भन्दा पनि कारवाहीमा तदारुकता नै हो । त्यसैले सरकारले महत्वकांक्ष्ँी कानुनलाई प्रभावकारी बनाउनतिर केन्द्रित हुन जरुरी छ । नत्र जस्तो ऐन आए पनि पीडितका लागि हर्ष न विस्मात हुने देखिन्छ ।

र, अन्त्यमा
भारतमा केही वर्ष पहिले राजधानी दिल्लीमा निर्भया वलात्कार काण्ड भयो । सो दर्दनाक काण्ड विरुद्ध दिल्लीमात्र होइन, सिंगो भारत तरंगित भयो । वलात्कार र महिला हिंसाविरुद्ध जनमत यति धेरै बढ्यो कि, सरकार तत्काल हर्कतमा आउन बाध्य भयो । बलात्कारका कतिपय आरोपीहरुले त भारतीय कानुन अनुसार मृत्युदण्ड समेत पाइसकेका छन् । तै पनि भारतमा वलात्कार र यौनजन्य हिंसा घटेका छैनन् ।

नेपालमा कुनै समय हिंसा सहेर बस्ने महिला कम्तीमा हिंसा विरुद्ध बोल्न सम्म थालेका छन् । पीडितले हिंसा सहनु हुन्न भन्ने चेतनासम्म वृद्धि भएको छ । तर, महिला र पुरुष दुवैको मानसिकतामा परिवर्तन नल्याई वलात्कार र यौनजन्य हिंसा कम गर्न सकिदैन । समाजमा बिग्रंदै गरेको मनोविज्ञानलाई सही ट्याकमा ल्याउन नैतिक शिक्षाको अभाव खड्किएको छ । घरबाट, विद्यालयबाट, समाजबाट विश्वविद्यालयबाट सबैतिरबाट नैतिक शिक्षाको पाठ पढाउन नसक्ने हो भने यस्ता घटना घट्ने होइनन्, बढ्ने नै छन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All