कञ्चनपुर, ४ भाद्र । १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरेको आरोपमा कञ्चनपुरमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका १९ का दिलिपसिंह बिष्ट रहेको प्रहरीले जनाएको छ ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । साउन १० गते बेपत्ता भएकी बालिका पन्तलाई बिष्टले बलात्कारपछि हत्या गरेको प्रहरीको दावी छ ।
पन्तको शव ११ गते घर नजिकैको उखुबारीमा भेटिएको थियो । पक्राउ परेका बिष्ट दिदी नाता पर्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा ९ वर्ष जेल सजाय पाइसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ । बिष्टले परिवारका महिलामाथि पनि जवरजस्ती करणीको प्रयास गर्ने गरेको परिवारलाई उद्धत गर्दै प्रहरीले जनाएको छ । बिष्टले गाँजा र मादक पदार्थ सेवन गर्ने गरेको, परिवारकै महिला सदस्यलाई पटक–पटक यौन दुव्र्यवहारको प्रयास गरेको, बाटोमा महिलालाई देख्दा अश्लील हर्कत गर्ने गरेको, जिल्ला कारागारमा आएर माग्ने गरेको र घरमा बाहिरै सुत्ने गरेको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।
आफू एक पटक जेल बसेर आएको र फेरि सबैलाई मारेर जेल जान्छु भन्ने गरेका कारण परिवारमा समेत कुनबेला के घटना घटाउने हो भन्ने त्रास समेत रहेको अवस्थामा निर्मलाको हत्या हुन पुगेको प्रहरीले जनाएको छ । आफन्तलाई धम्की दिदै एकपटक जेलको सजाय भोगेकाले फेरि पनि सबैको हत्या गरी जेल जान आफू तयार रहेको बताएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्